उपसभामुख राजीनामा दिन तयार, सभामुख अब को बन्ला ?

सुवासचन्द्र नेम्वाङ र  अग्नि सापकोटा चर्चामा

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, ०८ : १९
उपसभामुख राजीनामा दिन तयार, सभामुख अब को बन्ला ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ पुसमा संसदको हिउँदे अधिवेशन आव्हान गरेकी छिन् । अधिवेशनको पहिलो कार्यसूचि छ –प्रतिनिधीसभाको सभामुख चयन । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा परेपछि सभामुख पद रिक्त छ । गत असोज १४ मा उनले पदवाट राजीनामा दिएका थिए । उनको मुद्दा अदालत पुगेर पूर्पक्षका लागि डिल्लीबजार सदरखोरमा छन् ।

महराको पद त गयो, उनी जेल पनि परिहाले । तर उनले सम्हाल्दै आएको सभामुख चयन प्रक्रिया संसदमा पहिलो प्राथमिकताको कार्यसूचिमा परेपछि नयाँ सभामुख को बन्लान ? अहिले चर्चाको विषय बन्न थालेको छ । संविधानको ब्यवस्था अनुसार सभामुख र उपसभामुख अलग दल र फरक लिंगका ब्यक्ति हुनुपर्ने प्रवाधान छ । अर्थात सभाुमख एउटा राजनीतिक दलले पायो भने उपसभामुख अर्काे दलको ब्यक्ति हुनुपर्छ ।

एउटै दलबाट दुवै पद ओगट्न पाईदैन् । सभामुख पुरुष भए उपसभामुखमा पुरुषले प्रतिस्पर्धा नै गर्न पाउँदैनन । अथवा सभामुख महिला बने उपसभामुख पुरुष बन्नुपर्ने हुन्छ । संविधानको यही ब्यवस्थाका आधारमा संसदमा झण्डै दुई तिहाई मत रहेको नेकपालाई सभामुख पद आफनो पोल्टामा पार्न उपसभामुखको राजीनामा अनिवार्य शर्त बनेको छ ।

उनलाई दलका नेताहरुले राजीनामाका लागि सुझाईसकेका छन् । उनले पहिले एकपटक संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाउने र सभामुख चयन प्रक्रिया अगाडी बढाएर आफुले सहज निकास दिने बताईसकेकी छिन् । उनले आफ्नो सभामुख पदको दाबी भने छोडेकी छैनन् । सभामुख बन्नका लागि उनी नेकपाका अध्यक्षद्धय प्रचण्ड र प्रधानमन्त्री समेत रहेका केपी ओलीसम्म आफनो लबिङ पु¥याईरहेकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्ला राजनीतिक निर्णयहरुमा अदृश्य रुपमा हाबी हुन थालेकीले पनि उनले राष्ट्रपतिसम्मलाई आफुलाई सभामुख बनाउन पहल गरिदिन भन्दै दौडधुप बढाएकी छिन् । तर उनको त्यो दौड अहिलेसम्म कामयाबी हुने देखिएको छैन । अर्थात, उनी सभामुखको आकांक्षा राख्दै एक्लै दौडमा छिन् । सभामुखका लागि सबैभन्दा बलियो दावेदार संविधानसभाका अध्यक्ष समेत भईसकेका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र अर्का नेता अग्नि सापकोटा देखिएका छन् । सत्तारुढ दल नेकपा भित्र यो पद कसले पाउने भन्नेमा पहिले ब्यक्ति भन्दा पनि पार्टी एकता पूर्वका पूर्व समुह कसले लिने बहस पहिले चलेको छ ।

तत्कालिन अवस्थामा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनका लागि प्रधानमन्त्री तत्कालिन एमाले र सभामुख तत्कालिन माओवादी केन्द्रले लिने समझदारी अनुसार, ओली प्रधानमन्त्री र महरा सभामुख भएका थिए ।तर अहिले पूर्व एमाले समुह सभामुख चयनमा पूर्व यो समुह र उ समुह भनेर तर्क गर्न नहुने भन्दै बहसमा आएको छ । तर पूर्व माओवादी तर्फका नेताहरुले भने पार्टीको आगामी महाधिवेशन सम्म वा पार्टी एकताको सम्पूर्ण प्रक्रियाको टुंगो नलाग्दा सम्म सभामुख आफ्नो पूर्ववत पार्टीको भागमा रहेकोले त्यही आधारमा स्वतः पाउनु पर्ने बताईरहेको छ ।

‘यो तर्क गर्ने विषय नै होइन, कसले लिने भनेर’ नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता हरिबोल गजुरेलले भने,–‘यो स्वतः पूर्ववत पार्टीका आधारमा हामीले लिने हो । पार्टीभित्रको सन्तुलन मिलाउन पनि हामीले लिने हो, पात्र त्यसपछिको कुरा हो ।’ दुई अध्यक्षका बीचमा सामान्य यो विषयमा छलफल त भएको छ , तर यो दुई अध्यक्षका बीचमा मात्र सिमित छ ।

सार्वजनिक रुपमा नेताहरुका बीचमा यो बहसले प्रवेश नपाईसकेपनि अनौपचारिक रुपमा दुई अध्यक्षका बीचमा कुराकानी चलेको नेताहरुले बताईरहेका छन् । निश्र्कषमा पुग्ने गरी कुरा बाहिर नआएपनि मोटामोटी सम्भावित पात्रका बारेमा दुई अध्यक्षले छलफल गर्न थालेको नेकपा स्रोत बताउँछ ।

पूर्व एमाले खेमावाट नेम्वाङ र पूर्व माओवादी खेमावाट सापकोटाको नाम प्रबल दाबेदारका रुपमा रहेपनि पूर्व माओवादी खेमावाटै देव गुरुङ र पम्फा भुषालको नाम पनि बेलाबेला चर्चामा छ । ओलीको रोजाई नेम्वाङ तिर छ भने प्रचण्डको सापकोटातिर छ । यो विषयमा अब नेकपाले २७ मंसिरको सचिवालय बैठकमा विषय प्रवेश भएर छलफलमा आउने बताउन थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस