भक्तपुर नेकपाभित्र भाँडभैलो, यस्तो छ कारण

सफल खबर संवाददाता

बुधबार, २० कार्तिक २०७६, ०९ : ३८
भक्तपुर नेकपाभित्र भाँडभैलो, यस्तो छ कारण

भक्तपुर । सत्तारुढ दल नेकपा तत्कालीन एमाले र माओवादीको एकतापछि बनेको पार्टीको नाम हो । नेपालको कम्युनिष्ट आन्दोलनको प्रमुख दुई धारका बीचको एकतापछि यो पार्टीको जन्म भएको हो ।

३ जेठ २०७५ मा पार्टी एकता भए पनि विगतका पूर्ववत् स्कुलिङ र गुटको प्रभावले नेकपालाई छोडेको छैन । खासगरी पूर्वएमाले समूहले माओवादी समूहलाई एकतापछि पनि होच्याउने, पेल्ने र अवसरका पदहरुमा आफँै लिने र माओवादी समूहका नेता कार्यकर्तालाई सकभर किनारा लगाउन खोज्ने क्रम चलि नै रहेको छ, भने पूर्वमाओवादी समूह पनि कोभन्दा को कम भन्ने मानसिकताबाट अघि बढिरहेको छ । 

त्यसैको एउटा ज्वालन्त उदाहरण हो, नेकपाको भक्तपुरमा देखिन थालेको उमेदवारी सम्बन्धी विवाद । भक्तपुरको क्षेत्र नम्वर १ को प्रदेश सभा (क) मा उपचुनाव हुँदैछ । त्यहाँ पार्टी सचिवालयले पूर्व माओवादी धारका तर्फबाट अहिले जिल्ला सचिव रहेका नेता देवीप्रसाद (डिपी) ढकाललाई उमेदवार बनाउने निर्णय गरिसकेको छ । तर पार्टी सचिवालयको निर्णयलाई चुनौती दिँदै र त्यसलाई उल्टाउने नभए पनि चुनावमा अन्तरघात गर्ने योजनामा भक्तपुरका पूर्वएमाले स्कुलिङका नेताहरुको अहिले दौडधूप तीव्र छ ।

भोलि बिहीबार उमेदवार मनोनयनको समय रहेकोले पनि सकभर त्यो समय अगावै ढकालको नाममा पार्टी सचिवालयले गरेको निर्णय उल्टाउन पूर्वएमाले समूहका जिल्ला नेताहरुको दौडधूप तीव्र बनाएका छन् । पार्टी अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायत नेताहरु कहाँ पुगेर उनीहरुले नजित्ने उमेदवारलाई टिकट दिएको भन्दै निर्णय सच्चाउनु पर्ने र अर्काे उम्मेदवार खडा गर्नुपर्ने लविङ बढाइरहेका छन् ।

त्यस कामका लागि भक्तपुर २ का सांसद समेत रहेका नेकपा केन्द्रीय सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज सोम मिश्रलगायत नेताहरु कम्मर कसेर लागेका छन् । यो क्षेत्रमा गत प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावकै बेलामा गठबन्धन बनाउँदा पनि तत्कालीन एमाले पक्षधर नेताहरुले जबर्जस्त माओवादी धारलाई पेलेको उनीहरुको आरोप छ । 

त्यसबेला ढकालले नै सो क्षेत्रमा उमेदवारी पाएका थिए । तर एमाले खेमाले पुरुषोत्तम लामिछानेलाई पनि उम्मेदवारी दर्ता गर्न लगाएर बागी खडा गरेका थिए । जवर्जस्ती बागीको पक्षमा माहोल खडा गरी केन्द्रका नेतालाई पनि प्रभावमा राखेर लामिछानेको पक्षमा पल्ला भारी बनाउने काम त्यसबेला भएका थिए ।

अहिले टिकट पाएका ढकाल त्यसवेला नै पीडित बनाइएको थियो । अहिले फेरि त्यही श्रृंखला दोहो¥याउँदै पूर्व एमाले समूहले भक्तपुरको टिकट उछिट्याउने अन्तिम कसरथ गरिरहेका छन् । उनीहरुको तर्क एउटै छ, जनताले नचिनेका, जनताका बीचमा नभिजेका नेतालाई पार्टीले उमेदवार बनायो । जित्नेलाई उमेदवार बनाउनुपर्छ ।

जित्ने नजित्ने आधार के ? त्यसको लेखाजोखाबिना नै पूर्व एमाले समूहले अहिले माओवादी समूहलाई पेल्ने रणनीति अख्तियार गर्न थालेको माओवादी धारका भक्तपुर जिल्लाका नेताहरु बताउँछन्  । अहिले ढकालको उम्मेदवारी फिर्ताको दवाव वढाउन एमाले समुहले जिल्ला पार्टी कार्यालयमा दुई दिन यता तालावन्दी समेत गरिरहेको छ ।  पूर्वमाओवादी नेताहरुले भने पार्टीको निर्णयानुसार टिकट पाएका डीपी ढकालको विरोध गरिनु पार्टी एकताविरोधी कार्य भएको बताएका छन् ।

नेकपा प्रदेश नं. ३ का सचिवालय सदस्य देवेन्द्र श्रेष्ठले पार्टीको निर्णयविरुद्ध जानेहरुलाई अराजकहरुको जत्था भएको वताएका छन् । ‘को जित्छ र को जित्दैन नेता र कार्यकर्ताहरुले भन्ने होइन, भोलि निर्वाचन भएपछि जनताको मतले निर्णय गर्ने हो’, श्रेष्ठले भने, ‘निर्वाचनअघि नै जित्ने आधार के हो ? यो त व्यक्तिवादी राजनीतिको पराकाष्ठा हो ।’

उम्मेदवार बन्न चाहनेहरुको व्यक्तिगत स्वार्थ र केही दिने वा गर्ने अग्रीम आश्वासनमा परेर एकताविरोधी व्यक्तिहरुले पार्टीको निर्णयको विरोध गरेको उनको भनाइ थियो ।

‘पार्टी केन्द्रले गरेको निर्णयको विरोध गर्नु भनेको कुकुरले पुच्छर हल्लाएको होइन, पुच्छरले कुकुर हल्लाएको भनेजस्तै मात्रै हो’, नेता श्रेष्ठले थपे, ‘यदि डीपी कमरेड हार्ने व्यक्ति हो भने जिल्ला कमिटीबाटै किन उम्मेदवारको लागि सिफारिस गरियो ? जिल्लाबाट किन जित्ने एकजनामात्रै व्यक्तिको नाम सिफारिस गरिएन ?’ नेकपाको भक्तपुर जिल्लको सिफारिसका आधारमा नेकपा सचिवालयले ढकालको नाममा निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस