अमेरिकाको क्यालिफोर्नियाबाट ५० हजार विस्थापित

एजेन्सी

आइतबार, १० कार्तिक २०७६, १६ : २२
अमेरिकाको क्यालिफोर्नियाबाट ५० हजार विस्थापित

लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियाबाट झण्डै ५० हजार जना स्थानीय बासिन्दा विस्थापित भएका छन् । 

नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो । 

क्यालिफोर्नियाको जङ्गल तथा अग्नि नियन्त्रण विभागका अधिकारीले आगो अत्यन्त चाँडो फैलिएको जानकारी दिएका छन् । 

आगोले अहिलेसम्म ४९ वटा संरचना ध्वस्त पारिसकेको र अरु हजारौँ घरमा क्षति पु¥याउने देखिएको विभागका अधिकारीको भनाइ छ । 

अग्नि नियन्त्रकले क्यालिफोर्नियाका जङ्गलमा सल्किएको आगो नियन्त्रण गर्ने प्रयास गर्दै गर्दा दशौँ लाख मानिस बिजुली आपूर्तिबाट वञ्चित हुन सक्ने चेतावनी पनि दिएका छन् । 

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा बन्द गरिने भएको हो । 

उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो ।

आगो निभाउन १,३०० भन्दाबढी अग्नि नियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस