प्रहरी आईजीपी सर्वेन्द्र खनालको पद धरापमा

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १४ : ५२
प्रहरी आईजीपी सर्वेन्द्र खनालको पद धरापमा

काठमाडौं । नेपाल प्रहरीका आईजिपि सर्वेन्द्र खनालको दिनगन्ती शुरु भएको छ । सरकारले उनलाई हटाई नयाँ प्रहरी महानिरीक्षक (आईजिपि) बनाउने भित्री तयारी शुरु गरेको छ ।

प्रहरीको नेतृत्वमा आएदेखि नै खनाल एकपछि अर्को गरी विवादित बन्दै आएका थिए । हुन त उनको पदावधी अब धेरै छँदा पनि छैन । तर त्यो पदावधीसम्म पनि उनका लागि सरकारले कुर्ने संकेत देखाएको छैन् ।

उनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रामबहादुर थापा (बादल) सम्म पनि सन्तुष्ट छैनन् । खनालको कार्यकाल अव १११ दिन मात्र बाँकी छ ।

२९ माघपछि खनालसहितको उनको व्याचले अनिवार्य अवकाश पाउनेछ । तर त्यस समयसम्म सरकारले उनलाई कुरेर प्रहरीको नेतृत्व जिम्मा लगाइरहने स्थितीमा छैन् । 

खानाललाई सरकारले चिनियाँ राष्ट«पति सी जिनफिङको नेपाल भ्रमण अगाडि नै प्रहरीको नेतृत्वबाट पाखा लगाउन खोजेको थियो । तर राष्ट्रपति सीको भ्रमण अगाडि प्रहरीको नेतृत्व फेर्दा समस्या आउन सक्ने ठानी सरकारले त्यसबेला आफ्नो योजनालाई तत्काल थाती राखेको थियो ।

अब भने उनलाई हटाउने वा बाँकी कार्यकाल काम गर्न दिने भन्नेमा गम्भिर छलफल गर्ने योजना बनाएको स्रोतले बतायो । गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीबीचमा छलफल हुने सम्भावना रहेको बालुवाटार स्रोतले बतायो ।

विप्लव नेतत्वका नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल इन्काउन्टर प्रकरणमा राष्टि«य मानव अधिकार आयोग सम्मले खनाललाई कारवाही गर्न माग गरेपछि यही बेला उनीलाई पदमुक्त गराउन खोजेका हुन् । 

पछिल्लो सयम खनालको एकपछि अर्को अपारदर्शी कामका कारण उनी विवादित बन्दै छन् । लत्ताकपडा, बुट–जुत्ता, सवारी खरिदमा प्रहरी नेतृत्व अख्तियारसम्म तानिएको छ । यो प्रकरणमा प्रहरी प्रमुख आइजीपी खनाल आफै पनि तानिएका छन् ।

अख्तियारको विशेष टोलीले २० भदौ २०७६ नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभाग अन्तर्गतको आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात समेत माग गरेको थियो । 

खनाल प्रहरी नेतृत्वमा आएपछि प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा पनि अटेर गरेपछि अख्तियार आफै प्रहरी प्रधान कार्यालयमा पुगेर छापा मार्न पुगेको थियो ।

सामान खरिदमा घोटालाको विषयलाई लिएर २०७६ साउन २१ मा ७६ र ७७ सी–२५८० र साउन २६ मा सी–३३८१ दर्ता नम्बरमा अख्तियारमा दुई छुट्टाछुट्टै उजुरी परेको थियो । यसमा अख्तियारले अहिले छानविन गरिरहेको छ । 

त्यसो त खनाल आर्थिक अनियमितता प्रकरणमा मात्र जोडिएका छैनन्, उनले निर्मला पन्त प्रकरण, रवि लामिछाने प्रकरणमा पनि विवादास्पद भूमिका निर्वाह गरेका थिए । 

आफू प्रहरी महानिरीक्षक भएपछि अनुसन्धानमा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई काठमाडौं बाहिर समेत पुगेर महानिरीक्षक खनालले भेटेको भन्दै उनलाई सरकारले मौखिक स्पष्टिकरण पनि सोधेको थियो ।

उनले चितवनमा रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा रहेका बेला हिरासतमा नै पुगेर भेटेका थिए । गम्भीर प्रकृतिका अपराधमा खेलाची गर्ने र आफ्नो स्वार्थ अनुकुल सरकारलाई समेत आँखा छलेर काम गर्ने खनालको कार्यशैलीसँग सरकार सन्तुष्ट छैन् ।

प्रतिक्रिया दिनुहोस