काठमाडौंमा एक विद्यालयको बार्दली खस्दा ४२ विद्यार्थी घाइते

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १८ : ४७
काठमाडौंमा एक विद्यालयको बार्दली खस्दा ४२ विद्यार्थी घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलको बार्दली खस्दा ४२ विद्यार्थी घाइते भएका छन् । बार्दलीमा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बार्दली भाँचिएर घाइते भएका हुन् । धेरै विद्यार्थीको भार थाम्न नसकेर बार्दलि भाँचिएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार घाइते सबै विद्यार्थीको उद्धार भएको छ । घाइते विद्यार्थीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । सबै विद्यार्थीको अवस्था सामान्य रहेको उनको भनाइ छ । 
घाइते हुने विद्यार्थी कक्षा १ देखि ५ सम्मका छन् ।  उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ ।

प्रतिक्रिया दिनुहोस