पैसा उठाउन गएका मनोजलाई जनकपुरमा गोली हानी हत्या

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १५ : २७
पैसा उठाउन गएका मनोजलाई जनकपुरमा गोली हानी हत्या

धनुषा । जनकपुरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । 
आज बिहान करिव १० बजेको समयमा जनकपुर उपमहानगरपालिका–१४, मुजेलियाका ३५ वर्षीय पंकज भनिने शङ्कर चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर–१ बस्ने ४१ वर्षीय मनोज साहको मृत्यु भएको हो । 

पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले ‘घरमा आएर किन पैसा मागेको भन्दै मनोजमाथि गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पंकज निर्माण व्यवसायी हुन् । उनले सपहीमा रहेको मनोजको शिव आयल निगमबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । प्रहरीका अनुसार पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए । जसबाट करीब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो ।

मनोजका आफन्तका अनुसार त्यही रकम असुल्नका लागि ताकेता गर्न उनी पंकजको घर गएका थिए । सोही क्रममा विवाद हुँदा मनोजको गोली हानी हत्या गरिएको हो ।

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् । पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान  र एक थान नलकटुवा पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस