तीन वर्षभित्र सबै जनताको घरमा बिजुली : उर्जामन्त्री पुन

नारायणी नदी तटबन्धनको कामलाई अगाडि बढाउन निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १० : २१
तीन वर्षभित्र सबै जनताको घरमा बिजुली : उर्जामन्त्री पुन

चितवन । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले तीन वर्षभित्र सबै जनताको घरमा बिजुली पुग्ने बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले गरेको नारायणी र राप्ती नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा मन्त्री पुनले जसको लागि चालु आर्थिक वर्ष २८ करोड बजेट छुट्टाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनका प्रत्येक घरमा बिजुली पुग्छ, उज्यालोबाट कुनै घर बाहिर हुने छैन ।’
 
उर्जामन्त्री पुनले सरकार कानुन निर्माण र संघीय व्यवस्थाअनुरूप तीन वटा तहको सरकार सञ्चालनको सिकाइमा रहेको र योजनाबद्ध र दिगो विकासको लक्षसहित अगाडि बढिरहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष सरकारले करिब ६ अर्बको हाराहारीमा नदी नियन्त्रण र तटबन्धनको लागि बजेट विनियोजन गरेको छ ।

मन्त्री पुनले चितवन केन्द्रभागमा रहेको हुनाले हरेक विकासमा यस जिल्ला नमुना बन्न सक्ने र यसको विकासको सिको अरु जिल्लाले पनि गर्न सक्ने बताउनुभयो । 

उहाँले नारायणी नदी तटबन्धनलार्इ प्रामिकताका साथ काम अगाडि बढाउन सम्बन्धित आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘बजेटको कमी हुन दिने छैन, काम अगाडि बढाउनूस् ।’ अबको विकास साझेदारी मोडलमा अगाडि बढाउँदा आसातित उपलब्धी हासिल गर्न सकिने उहाँको भनाइ थियो ।  

चितवनको समग्र सिंचाइ प्रणालीको विकासमा मन्त्रालयले योजना अगाडि बढाएका बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ४१ जिल्लामा यसपटक पूर्ण विद्युतीकरण गर्ने काम सुरु भएको छ, त्यसमा चितवन पनि परेको छ ।’ मन्त्री पुनले भरतपुर महानगरलाई उज्यालो बनाउनका लागि स्मार्ट लाइटको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । 

मन्त्री पुनले २० करोडको लागतमा भरतपुर महानगरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको बताउनुभएको छ ।मन्त्री नेपाल सरकारले एउटा मोडेल प्रोजेक्टको रुपमा भरतपुरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा उहाँले प्रधानमन्त्रीको पानी जहाजको सपनालाई साकार पार्न नारायणी नदीमा पानी जहाज चलाउने अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दासढुंगादेखि भारतको बोर्डरसम्म पानी जहाज चलाउन सकिने अध्ययनले देखाएको छ । ३०० सम्म कन्टेनर बोक्ने पानीजहाज नारायणी नदीमा चल्न सक्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद विजय सुवेदीले समयमै नारायणी र राप्ती नदी तटबन्धलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । अर्का प्रदेश सांसद मिलनबाबु श्रेष्ठले विकासका कार्यक्रमहरु योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्धन, पश्चिम चितवनका सिंचाइको व्यवस्था र रिंगरोडको कामलाई तीव्रताका साथ पर्याप्त बजेटसहित अगाडि बढाइदिन उर्जामन्त्री पुनसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले मन्त्रीसामु स्मार्ट सडक बत्ती र सिंचाइको लागि नारायणी लिफ्ट र खगेरी सिंचाइको विस्तारको लागि पर्याप्त बजेटको व्यवस्था गर्नसमेत आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा  जलस्रोत तथा उर्जा मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ,  वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका प्रमुख मधुसुदन अधिकारी, भरतपुर २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरका इन्जिनियर भरत आचार्य, भरतपुर १६ कार्यवहाक अध्यक्ष ओम रावल, उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधानलगायतले आफ्नो धारण राख्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस