जेलपरेका आफ्नै नेता कार्यकर्तामाथि विप्लव नेकपाले कडा निगारानी गर्ने, वार्ताका लागि दुई शर्त

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, ०७ : ३९
जेलपरेका आफ्नै नेता कार्यकर्तामाथि विप्लव नेकपाले कडा निगारानी गर्ने, वार्ताका लागि दुई शर्त

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जेल परेका आफ्नै पार्टी नेता–कार्यकर्तामाथी कडा निगारानी गर्ने भएको छ । आफैलाई रुपान्तरण गर्दै पार्टीलाई शुद्धिकरण गर्नका लागि त्यस्तो निगारानी बढाउने योजना बनाएको महासचिव विप्लवले पार्टीको आठौं पूर्ण बैठकपछि जारी गरेको वक्तब्यमा उल्लेख छ ।

‘पार्टी शुद्धीकरणलाई जोड दिने क्रममा राज्यको नियन्त्रणमा परेका समयमा पार्टी नीतिविपरीत जनतामा गलत समाचार पुग्ने गरी आत्मसमर्पण गर्ने, समन्वय गर्ने र चोचोमोचो मिलाएर निस्किने, पीबीएम, सीसीएम, आरबीएम, डीसीएमहरूलाई पार्टीबाट आवश्यक कारबाही गर्ने, आत्मालोचना गराउने र कम्युनिस्ट विधिअनुरूप रूपान्तरण गराउने निर्णय गरियो’ विप्लवको वक्तब्यमा भनिएको छ ।

सरकारले विप्लवका पार्टीका नेता कार्यकर्तालाई सामान्य कागजमा हस्ताक्षर गरी वार्ताका लागि तयार हुने, शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने जस्ता शब्दावलीमा वक्तब्य लेखेर छोडने नीति बनाएको थियो ।

त्यसका अतिरिक्त विप्लवको पार्टीभित्रै अन्तरविरोध सिर्जना गर्नका लागि नेतालाई छोडिदिने तर कार्यकर्तालाई अदालतले छोड्न आदेश दिँदा पनि पून पक्राउ गर्ने काम गरेर अन्तरविरोध सिर्जना गर्न खोजेको थियो ।

विप्लवका पार्टीभित्रै पक्राउपछि छोडिएका नेता कार्यकर्ता किन छोडिए भन्ने आशंका जन्माइराख्न र पूर्ण विश्वास नगर्ने वतावरण बनाउनका लागि सरकारले दोहोरो रणनीतिका आधारमा कसैलाई छोड्ने र कसैलाई पक्राउ गर्ने काम गरेपछि विप्लवले पनि यो रणनीति अवलम्वन गरेका हुन् ।
अब पक्राउ परेर छुटेका नेता कार्यकर्ता प्रहरी नियन्त्रणबाट छुटने वित्तिकै पार्टी जिम्मेवारी पाउने छैनन् । उनीहरुमाथिको कडा निगरानी गर्ने, पार्टी नीतिविपरीत जनतामा गलत समाचार पुग्ने गरी आत्मसमर्पण गर्ने, समन्वय गर्ने र चोचोमोचो मिलाएर निस्किने पीबीएम, सीसीएम, आरबीएम, डीसीएमहरूलाई पार्टीबाट आवश्यक कारबाही गर्ने, आत्मालोचना गराउने र कम्युनिस्ट विधिअनुरूप रूपान्तरण गराउने निर्णय विप्लवको पार्टीले गरेको हो ।

आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ भन्ने विप्लवले बैठकमा राखेको राजनीतिक प्रतिवेदन पनि बैठकले पारित गरेको वक्तब्यमा उल्लेख छ ।

सङ्गठनका क्षेत्रमा देखापरेका आत्मसुरक्षावाद, आत्मसमर्पणवाद, समन्वयवाद, अर्थवादका विरुद्ध निर्मम सङ्घर्ष गर्दै हालै सुरु गरिएको पार्टी शुद्धीकरण अभियान वस्तुवादी एवम् वैज्ञानिक भएको, यसले पार्टीलाई सुदृढ, गतिशील, सर्वहारा वर्गीय, जनउत्तरदायी, एकीकृत जनक्रान्तिअनुरूपको पार्टी बनाउन पार्टीका सबै तहका कमिटिमा पहल लिने निर्णय पनि विप्लवको पार्टीले गरेको छ ।

वार्ताका लागि दुई शर्त
विप्लवको पार्टीले सरकारसँग वार्ताका लागि दुई वुँदे शर्त पनि अगाडि सारेको छ । वार्ताका नाममा दमन गर्ने षडायन्त्रपूर्ण काम सरकारले गरेका कारण वार्ता हुन नसकेको र सरकारले आफ्नो फासीवादी दमनलाई ढाकछोप गर्न वार्ताको हतियार प्रयोग गरिरहेकोले त्यस्तो षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गरेर जाने निर्णय केन्द्रीय समिती बैठकले गरेको विप्लवले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

तर उनले इमान्दारीपूर्वक पार्टीमाथीको प्रतिवन्ध हटाउने र गिरफ्तार नेता कार्यकर्तालाई निशर्त छोडेमा वार्ताका सन्र्दभमा पार्टीले सकारात्मक रुपमा सोच्ने निर्णय गरेको बताएका छन् ।

सरकारको प्रतिबन्ध, हत्या अप्रेसन, गिरफ्तारी र केही गम्भीर क्षतिका बाबजुद पार्टी जनताका बीचमा स्थापित र अनुशासित बन्दै गएको, प्रतिरोध सङघर्षमा जनताको साथ सहयोग बढिरहेको, मित्रशक्तिहरूसँगको सहकार्य फैलिँदै गएको, जनताको आशा पार्टीतिर बढ्दै गएको, विभिन्न पार्टीहरूबाट पार्टीमा सहभागी बन्ने प्रक्रिया चलिरहेको, नयाँ पूर्णकालीन कार्यकर्ता बढ्दै गएका, जनमुक्ति सेनामा भर्ती बढिरहेको, विभिन्न विचलनकारी प्रवृत्तिबाट पार्टी मुक्त हुँदै गएको जानकारी बैठकमा रिर्पोटिङका क्रममा केन्द्रीय सदस्यहरुले राखेको पनि विप्लवको वक्तब्यमा उल्लेख छ । 
तर पार्टी प्रतिबन्ध यता धेरै जसो नेता कार्यकर्ताले पार्टी छोडेको, नयाँ किवल्प दिन नसकेको र पार्टीमा पूर्णकालिन सदस्य थपिने भन्दा क्रमशः घट्ने काम मात्र भएकोले चरम निरासा बढदै जान थालेको छ ।

पार्टी स्थापना दिवस मनाउने
विप्लवको पार्टीले ६ महिने अभियान पनि तय गरेको छ । आउँदो मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउने निर्णय पनि गरेको छ । त्यस दिन विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सव मनाउने साथै माओ दिवस पनि देशव्यापी रूपमा मनाउने निर्णय गरेको विप्लवको वक्तब्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस