दमनको कडा प्रतिरोध गरिने छ : विप्लव

सफल खबर संवाददाता

शुक्रबार, ०१ कार्तिक २०७६, १२ : ३९
दमनको कडा प्रतिरोध गरिने छ : विप्लव

काठमाडौं । दुई दिनअघि दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दमनको कडा प्रतिरोध गरिने बताएका छन् ।

महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका  हुन् । विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केपी सरकार देशको आर्थिक, राजनीतिक, साँस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध दिन प्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी एवम् फासीवादी बन्दै गएको छ ।’

प्रहरीले विप्लवका दाई विरजंग, राप्ती ब्यूरो इन्चार्ज सुवास सहित २१ नेता कार्यकर्तालाई विहिवार विहान दाङवाट पक्राउ गरेको थियो । विप्लवले पार्टी नेता कार्यकर्ता पक्राउलाई समाजिक फासिवादी गिरफतारीको संज्ञा दिएका छन् ।  

पार्टीको राप्ती ब्युरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट सरकारले विप्लवका जेठा दाजु पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवास, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र, रोल्पा इन्चार्ज सन्तोष, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्वसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई रातको २ बजे गिरफ्तार गरेको थियो ।

विप्लवले वक्तब्यमा भनेका छन्, – श्रमिक जनताको अधिकार, देशको स्वाधीनताका पक्षमा र राष्ट्रघात, भ्रष्टाचार, करछली, महँगी, तस्करीका विरुद्ध लडिरहेका हाम्रा नेता–कार्यकर्तामाथिको दमनको कडा प्रतिरोध गरिने पनि स्पष्ट गर्दछ ।’

उनले केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिवरुद्ध दिन–प्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी एवम् फासिवादी बन्दै गएको वताएका छन् । उनले वक्तब्यमा अगाडी भनेका छन्, –‘देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एवम् जनवादी शक्तिहरूमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ । हामी केपी सरकारको निरङ्कुश एवम् फासिवादी दमनका विरुद्ध जागरुक हुन र सङ्घर्ष गर्न सबै मानवअधिकारवादी, कानुनविद्, बुद्धिजीवी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूलाई विशेष अपिल गर्दछौँ ।’

महासचिव विप्लवको विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘कठिनाइ, दुःखकष्ट, जेलनेल, त्याग र बलिदान क्रान्तिका मूल्य हुन् । जनताको मुक्ति एवम् वैज्ञानिक समाजवाद—साम्यवादका लागि लडिरहेका हाम्रो पार्टी, हाम्रा नेता र कार्यकर्ताहरू यो मूल्य चुकाएर नै महान् उद्देश्य प्राप्त गर्न सकिन्छ भन्नेमा स्पष्ट छौँ । यसका लागि हामी तयार हुँदैनथ्यौँ भने माओवादी पार्टीको खरानीबाट हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति जन्माउन सम्भव हुने थिएन । हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ । एकीकृत जनक्रान्ति विजयी भइछाड्नेछ ।’

हेर्नुहोस् विज्ञप्ति,

प्रतिक्रिया दिनुहोस