सी–ओली भेटवार्ता आज, दर्जनबढी सम्झौतामा हस्ताक्षर हुने

सुरुङमार्ग सुरुवात गरिहाल्ने, रेलमार्गमा अध्ययन गर्ने

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ०८ : १८
सी–ओली भेटवार्ता आज, दर्जनबढी सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका उत्तरी छिमेकी मुलुक चिनका राष्टपति सी जिनफिङका बीचमा आज शिष्टाचार भेटवार्ता हुने भएको छ । दुई नेता बीचको भेटवार्ता लगत्तै दुवै पक्षका प्रतिनिधीमण्डलका बीचमा पनि वार्ता हुँदैछ ।

उक्त वार्ताका क्रममा नेपाल र चीनका बीचमा झण्डै दर्जन बढी एजेण्डामा केन्द्रीत रहेर सम्झौता हुँदैछन् । केरुङ काठमाडौं सुरुङ मार्गको काम अगाडि बढाउने विषयमा चिनले काम थाल्ने र हिमालय वारिपारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढाउने विषयमा चिनीयाँ पक्षले संकेत देखाएको छ ।

राष्टपति विद्यादेवी भण्डारीले हिजो राती सी वसेकै होटल सोल्टीमा स्वागतका लागि आयोजना गरेको  रात्रीभोजमा चिनियाँ राष्टपति सी जिनफिङले सुरुङमार्ग सुरुआत गरिहाल्ने, रेलमार्गमा अध्ययन गर्ने वताएका थिए ।

यसले पनि देखाउँछ की नेपाललाई चिनियाँ पक्षले सुरुङ मार्गको क्षेत्रमा सहयोग गर्ने भएको छ ।
यसो हुँदा केरुङ काठमाडौं सडक मार्गका लागि दुई स्थानमा झण्डै ३० किलोमिटरको सुरुङ मार्ग निर्माणमा चिनले सहयोग गर्ने छ ।

काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको ६ किलोमिटर सुरुङमार्ग र नुवाकोटको वेत्रावतीदेखि रसुवाको स्याप्रुवेसीसम्म को झण्डै २२ किलोमिटरको सुरुङमार्ग निर्माणमा चिनले नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ ।

यद्यपी यो सम्झौताले औपचारिकता भने प्रधानमन्त्री ओली र राष्ट्रपति सी बीचको भेटवार्तापछि मात्र पाउनेछ ।

भूपरिवेष्ठित मुलुक नेपाललाई अब भूजडित मुलुक पनि बनाउनका लागि चिनले सहयोग गर्ने प्रतिवद्धता राष्ट्रपति सीले रात्री भोजमा गरेको संक्षिप्त संवोधनका क्रममै गरिसकेकोले दुई नेता बीचको भेटवार्तापछि चिनियाँ पक्षले नेपाललाई सरप्राइज दिन सक्ने कतिपयको विश्वास छ ।

दुई नेता र दुई पक्षीय प्रतिनिधीमण्डल बीचको भेटवार्ता आज विहान ११ बजेका लागि तय भएको छ । भेटवार्ता होटल सोल्टीमा आयोजना हुँदैछ ।

त्यस अगाडि राष्ट्रपति सीले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग पहिले सचिवालयका सदस्यसहित र त्यसपछि छुट्टै वान अन वान भेटवार्ता समेत गर्दैछन् । उनले हिजो रात्री कांग्रेस सभापति शेरवहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सी शनिवार नेपालको दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् । 

दुई देशका कार्यकारी तहमा हुने दिपक्षीय वार्तापछि कम्तीमा पनि एक दर्जन विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने नेपाली पक्षले बताईरहेको छ ।

नेपाल चीनको विवादरहित छिमेक हो । नेपालले आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिँदैन भन्ने सन्देश खम्पा विद्रोह दमन गर्दा नै देखाएको हो ।

यो विश्वासमा अडेको चीनसँगको सम्बन्धलाई अझ कसिलो बनाउने गरी आर्थिक सहकार्यमा नेपालले चीनसँग अपेक्षा गरेको छ र सीको भ्रमणलाई सोही अनुरुप सदुपयोग गर्ने गरी नेपाल लागेको छ ।

सम्झौता तथा सहमतिको खाका दुवै पक्षले करिव तय गरिसकेका छन् । सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएका छन् । सरकारी अधिकारी नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुन सक्ने आशामा छन् । 

सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ । भ्रमणको एजेण्डमा त्यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचीमा राखेको छ ।

यस्तै सन् २०२० मा नेपालले मनाउन लागेको पर्यटन वर्षमा पनि चिनले नेपाललाई सहयोग गर्ने घोषणा राष्ट्रपति सीले गरिसकेका छन् । रात्री भोजमा संवोधनका क्रममा उनले भ्रमण वर्ष सफल बनाउन चिनले आफ्ना नागरिकलाई सक्दो नेपाल भ्रमण गर्नका लागि प्रोत्साहन गर्ने र भ्रमण वर्ष सफल बनाउन सहयोग पु¥याउने प्रतिवद्दता पनि सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस