रात्री भोजमा चनियाँ राष्ट्रपति सीले के–के भने ? (सम्वोधनको पूर्णपाठसहित)

सीले भने, –‘विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदारी सम्बन्ध स्थापित गरौं’

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, ०७ : ५८
रात्री भोजमा चनियाँ राष्ट्रपति सीले के–के भने ? (सम्वोधनको पूर्णपाठसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङले हिजो राती सोल्टी होटलमा राष्टपति विद्यादेवी भण्डारीले दिएको भोजमा झण्डै ५ मिनेट सम्क्तिप्त सम्वोधन गरे । उनले नमस्ते भन्दै आफनो सम्वोधन शुरु गरेका थिए ।

त्यस अगाडी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आफनो छोटो सम्वोधन गरेकी थिइन् । राष्ट्रपति सीले गरेको

सम्वोधनको अनुवादित र सम्पादित अंश यस्तो छ 

नमस्ते !
चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला । त्यति राम्रो छैन होला । शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन् । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु ।

यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित छु । भविष्यप्रति मेरा आशाहरू जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।
 
चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धको विषद् नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालबीच कुनै समस्या छैन, मित्रता मात्र छ । सम्माननीय राष्ट्रपति भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदारी सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशबीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ ।

हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्ग परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं । मलाई आशा छ, दुई देशका जनताबीचको समझदारी बढ्नेछ ।

भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनाहरूलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरूमा लगानी बढाएर जनताबीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरूलाई भगिनी सहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशबीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं ।

भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरूको संख्या संसारमा सबैभन्दा बढी छ । हुन त भारत र नेपालमा पनि बुद्ध धर्मका अनुयायी बढि नै छन् । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँहरूले नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदानप्रदानका लागि पनि आउनेछन् । मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् ।

वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताहरूमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।

मलाई धेरै खुसी लागेको छ, सबै नेपाली नेताहरूसँग हामीले मतैक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरूसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरू बनाउन सकेकोमा म अत्यन्तै खुसी छु । भोलि म प्रधानमन्त्री केपी ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचार आदानप्रदान गर्नेछु । म प्रायः भन्ने गर्दछु, हामीले बनाएका र अघि बढाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं ।

भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । र दुई शतवाषिर्कीका दुई लक्ष्य पनि अघि बढाएका छौं । यसको पहिलो लक्ष्य हामी आगामी वर्ष साकार तुल्याउने छौं । दोस्रो लक्ष्य चाहिँ ३० वर्षपछि मात्र पूरा होला । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।

हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविष्य पनि निर्माण गरौं । अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समद्धि सुखी जीवनका लागि, चीन र नेपालबीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स ! ग्याम्वे ।

प्रतिक्रिया दिनुहोस