रेलमार्गको सम्भाव्यता अध्ययन सुरुवात गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा

सफल खबर संवाददाता

शनिबार, २५ असोज २०७६, २१ : ३३
रेलमार्गको सम्भाव्यता अध्ययन सुरुवात गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल र चीनबीच कुनै समस्या नरहेको भन्दै खाली मित्रता मात्रै रहेको बताएका छन् । 

सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजअघि सम्बोधन गर्दै उनले भने– चीन र नेपालबीच दौत्य सम्बन्ध भएको आधा शदाब्दी भन्दा बढी भएको सन्दर्भमा दुई देशले छिमेकी मुलुकहरुबीचको मैत्रीपूर्ण सम्बन्धको विश्वमा नमुना पेश गरेका छन् । मैले भन्न खोजेको के हो भने चीन र नेपालबीच कुनै समस्या छैन, मित्रता मात्र छ ।

सम्बोधनका क्रममा सीले चीनले सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरुवात गर्ने पनि जानकारी दिए । यस्तै अरनीको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नती गर्ने तथा केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गलाई अघि बढाउन पनि चिनियाँ सरकार सक्रिय रहेको जानकारी दिए । 

यस्तै नेपालसँगको बढीभन्दा बढी सीमा नाका खोल्न चीन तयार रहेको पनि बताए ।   

नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव, जनताको सुखी जीवन देख्दा आफूलाई खुसी लागेको पनि राष्ट्रपति सीले जानकारी दिए । 

उनले नेपाली समकक्षी विद्यादेवी भण्डारी र आफूले दुई पक्षीय साझा हित हुने गरी सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने सहकार्य गर्ने निर्णय गरेको पनि सीले बताए । नेपाल र चीनबीच आगामी दिनमा सम्बन्ध थप बलियो हुने पनि विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस