अपडेट : सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो, घाइतेहरुको हेलिकोप्टरबाट उद्धार

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १४ : ०८
अपडेट : सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्यो, घाइतेहरुको हेलिकोप्टरबाट उद्धार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० जना भन्दा बढी घाइते भएका छन् । घाइतेको एकिन विवरण आइनसकेका कारण तलमाथि हुन सक्ने प्रहरीले जनाएको छ ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खसेको थियो । 

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र  इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्यको पहिचान खुलिसकेको छैन ।
घाइतेहरुको एम्बुलेन्स र नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस