रघुविर महासेठ र प्रभु साहविरुद्ध पार्टीमै संगिन आरोप !

महासेठलाई स्थायी समितिबाट हटाउन, प्रभु र सत्यनारायण मण्डलसहितलाई पदमुक्त गर्न माग

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०७६, ०८ : ०४
रघुविर महासेठ र प्रभु साहविरुद्ध पार्टीमै संगिन आरोप !

काठमाडौं । पार्टीको अन्तरिम विधान विपरित भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलाई स्थायी समिति सदस्य बनाईएको र प्रदेश २ का इन्चार्ज र अध्यक्षसहितका चार जना पदाधिकारीले आचरण विपरित काम गरेको भन्दै पार्टीमा संगिन आरोप लागेको छ ।

प्रदेश २ बाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने १६ जना केन्द्रीय सदस्यले महासेठ, साह लगायतका नेताहरुलाई संगिन आरोप लगाएका हुन् ।

मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालयमा पुगेर कार्यलय सचिव श्रीराम ढकाल प्रशान्त र इश्वरी रिजाललाई उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्र पार्टी केन्द्रीय कार्यालयमा दर्ता समेत गराएका छन् ।

यसरी संगीन आरोप लगाउदै ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरु वरिष्ठ नेता माधव नेपाल र मात्रिका यादव समुहका नेता हुन् । मधेसमा माधव र मात्रिका एकातिर र केपी ओली र प्रभु साह अर्काेतिर देखिने गरी नयाँ समिकरण वनेको छ ।

त्यही समिकरण अनुसार माधव मात्रिका समुहले ओली प्रभु समुहका नेताहरुलाई संगीन आरोप लगाउदै कारबाहीको माग गरेका हुन् ।

उनीहरुको त्यस्तो आरोप सहितको ज्ञापनपत्रका विषयमा ओली प्रभु पक्षले कुनै प्रतिक्रिया जनाईसकेको भने छैन । तर २५ भदौंमा उनीहरु पक्षको पदाधिकारी वैठकले पनि नेता नेपाल, यादव लगायतलाई आवश्यक छानविन गरी कारवाही गर्न माग भने गरेका छन् ।

अन्तरिम पार्टी विधानको धारा ३४ (ख) मा एक कार्यकाल पोलिटब्यूरो सदस्य भईसकेका नेता मात्रै स्थायी समिति सदस्य हुने प्रावधान छ । तर महासेठ तत्कालिन एमाले तर्फबाट एक पटक पनि पोलिटब्यूरो सदस्य भएका थिएनन् । उनी एमालेको नवौं महाधिवेशनमा केन्द्रीय समितिमै चुनाव हारेका थिए ।

पछि मात्र एमालेले उनलाई पार्टी केन्द्रीय समितिमा मनोनयन गरेर लगेको थियो । त्यही आधारमा स्थायी समिति सदस्य बनाइनु विधान विपरित भएको उनीहरुको आरोप छ ।

ज्ञापनपत्रमा नेकपाका केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवान, रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद शाह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगतप्रसाद यादव, शत्रुधन महतो, बेधमाया यादव र रविन्द्र बैठाले हस्ताक्षर गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको भने अर्का पार्टी केन्द्रीय सदस्य महादेव यादव क्यान्सरका कारण दिल्लीमा उपचाररत रहेको र भेटन गएका कारण ज्ञापनपत्रमा हस्ताक्षर छैन । यादव हिजो स्वदेश फर्केपछि ज्ञापनपत्र बुझाउने भनिएपनि मौसमका कारण उनी आउने जहाज डिले हुन पुगेकोले उनी विनाको हस्ताक्षर बुझाईएको एक केन्द्रीय सदस्यले बताए ।

ज्ञापनपत्र केन्द्रीय कार्यलयमा बुझाउनु अघिल्लो दिन सोमबार झण्डै एक दर्जन केन्द्रीय सदस्यले पार्टी अध्यक्ष प्रचण्डलाई खुमलटार नै पुगेर भेटेका थिए । 

यस्तो छ १६ भाईको संगिन आरोप ! हेर्नुहोस ज्ञापनपत्र :


 

प्रतिक्रिया दिनुहोस