जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणमा ध्यान दिनुपर्छः राष्ट्रपति भण्डारी

विहीबार, १८ माघ २०७४, २० : ००
जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणमा ध्यान दिनुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणका विषयमा ध्यान दिनुपर्ने बताएकी छन् ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा उनले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७३/०७४ प्रतिवेदन बुझ्दै थुनुवाको खानेकुरा (सिधा) वृद्धि गर्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले सरकारी वकिलको क्षमता वृद्धि गर्न तालीम र सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिदैं महान्यायाधिवक्ता कार्यालयबाट भएका काम कारवाहीको प्रशंसा पनि गरिन् ।

संविधान र संघीय कानूनबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट सम्पादन भए गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप महान्यायाधिक्ता वसन्तराम भण्डारीले राष्ट्रपतिसमक्ष कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा, मुख्य सचिव लोकदर्शन रेग्मी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता लगायतको उपस्थिति थियो ।  महान्यायाधिवक्ता कार्यालयले चालु आवमा सरकार वादी भई चलाइएका मुद्दा २४ हजार ८८१ रहेका छन् । मुद्दा नचलाउने निर्णय गरेको १३१ मुद्दा र अपराधसम्बन्धी सरकारी मुद्दा ३१ हजार ४६२ रहेको छ ।

नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दाको लगत ६० हजार ९१८ छ । रासस

प्रतिक्रिया दिनुहोस