काठमाडौँ । श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ ।
श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो । २८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो ।
ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । उनले ८४ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । सन्दीप जोराले ५३ बलमा छ चौकासहित ४८, राशिद खानले ४४ बलमा एक छक्का र पाँच चौकासहित ४४, आशिफ शेखले ४५, कमलसिंह ऐरीले २६ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४१ र कुशल मल्लले २२ रन बनाए । बलिङतर्फ यूएईका सञ्चित शर्मा र आकाश ताहिरले तीन/तीन, कात्तिक पलानियाप्यनले दुई तथा ऋषभ मुखर्जीले एक विकेट लिए ।
ब्याटिङतर्फ यूएईका लागि अरविन्द्र रुद्रवेलले २८, अल्सान शरफुलले २१ तथा शैयद हैदरले १५ रन बनाए । बलिङतर्फ नेपालका लागि सागर ढकालले तीन, पवन सर्राफ, सूर्य तामाङ र राशिद खानले दुई/दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले तथा दोस्रो खेलमा बङ्गलादेशसँग छ विकेटले पराजित भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस