पूर्वी रुकुमको सदरमुकाम यथास्थितिमा राख्न आदेश

विहीबार, १८ माघ २०७४, १८ : ४०

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णयलाई हाललाई अर्को आदेश नहुँदासम्म यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णयको कारण देखाऊ आदेश माग्दै आज अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । उनका अनुसार अदालतले यही माघ २८ गते छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को यही माघ ११ गते बसेको बैठकले पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट उत्तरगंगा वडा नं १२ गोलगोल खाँडा सार्ने निर्णय गरेको थियो । अधिवक्ता गणेश हमालले सरकारको सो निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । रिट निवेदकका तर्फबाट कानून व्यवसायी सूर्य ढुंगेल, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, टीकाराम भट्टराई, गोपालदत्त पाण्डेलगायतले बहस गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस