काठमाडौं । ५ भदौंमा पार्टी बैठकमै चर्काचर्की गरेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालका बीचमा अझै सम्बन्ध सुधार हुन सकेको छैन । पार्टी बैठकमा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालको स्वास्थ्यलाभका लागि गरेको कामना समेत प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि ओली नेपालबीच बैठकमै बाझाबाझ भएको थियो ।
त्यसपछि प्रधानमन्त्री ओली सिंगापुरमा उपचारका लागि पुगेका थिए । १५ दिन सिंगापुरमा उपचार गरेर स्वदेश फर्केको पनि अहिले ५ दिन पुगिसकेको छ । तर पनि यी दुई नेताका बीचमा भेटघाट गर्ने वातावरण अझै बनेको छैन ।
न ओलीले नेपाललाई बालुवाटार निम्ताएका छन् , नत नेपाल नै ओली भेट्न बालुवाटार पुगेका छन् । स्थिती असमान्य बनेपछि ५ भदौंको सचिवालय बैठकमा दुई नेताको झगडा थामथुम पार्न अर्का अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले नै हस्तक्षेप गर्नु परेको थियो ।
त्यसयता दुवै नेताले आ–आफुले गल्ती गरेको रियलाइज गरेपनि त्यो गल्तीबाट उत्पन्न विवाद समाधानको गाठो भने फुकिसकेको छैन । माधव नेपाल निकट एक नेताका अनुसार, प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गरी दिएको शुभकामना नै ओलीले अस्वीकार गरेको अवस्थामा प्रधानमन्त्रीलाई कस्तो छ भन्दै बालुवाटार जानु नेपाललाई अप्ठायारो भएको छ ।
‘वालुवाटार जाने तर ओलीको स्वास्थ्य अवस्था नसोध्ने कुरा हुदैन, स्वास्थ्य कस्तो छ भनेर सोधौला फेरि तपाईलाई के वास्ता भनेर जवाफ दिए के गर्ने ? ’ नेपाल निकट ति नेताले भने, प्रधानमन्त्रीले नबोलाएसम्म अब नेपाल वालुवाटार जाने कुरै भएन , उहाँलाई जान पनि अप्ठायारो छ ।’
ओलीले पार्टी सचिवालयका अन्य ७ जना नेताहरुसँग सिंगापुरबाट फर्केपछि भेटघाट गरिसकेका छन् । ९ जनाको सचिवालयमा नेपालसँग मात्र ओलीको भेटघाट भएको छैन । ‘उहाँहरुको भेटघाट भएको जानकारी मलाई छैन,’ नेपालका स्वकिय सचिव मोहन गौतमले बताए ।
प्रधानमन्त्री ओलीले पनि नेपाललाई एक्लै वालुवाटार बोलाएर भेट्ने की पार्टी बैठकवाट छलफल गरेर अवस्थालाई सामान्यीकरण गर्ने भन्नेमा निर्णय लिईसकेका छैनन् । नेताहरुले पार्टी बैठकबाटै विवादको समाधान गर्ने र स्थिती सामान्यीकरण गर्ने काम गर्न सुझाईरहेका छन् ।
दुई नेताको विवाद मिलाउन वंगलादेशका लागि नेपाली राजदुत एवं नेपाल निकट नेता वंशीधर मिश्र, प्रधानमन्त्रीका जनसम्र्पक सल्लाहकार अच्युत मैनाली लगायत नेताहरुले पहलकदमी लिएका थिए ।
त्यसो त अध्यक्ष प्रचण्डले पनि स्थिती सामान्यीकरण गर्न दुवै नेताको बीचमा बसेर मध्यस्थताको भूमिका निर्वाह गरिरहेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ भदौ २०७६, ०७ : ४१
लेखकबाट थप