कांग्रेसको तरुण दलमा चर्कियो झगडा

पार्टीको भोलिबाट शुरु हुने जागरण अभियानमै अध्यक्ष र महासचिवका फरक–फरक सर्कुलर

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०७६, ०७ : ५३
कांग्रेसको तरुण दलमा चर्कियो झगडा

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस देशब्यापी दोश्रो चरणको जागरण अभियान लिएर भोलि देखि गाउँ छिर्दैछ । पहिलो चरणको कार्यक्रममा नै गुटगत प्रभाव रहेको भन्दै आलोचना भईरहेका बेला शुरु हुन लागेको दोश्रो चरणको कार्यक्रममा भने पहिले देखि नै विवाद चर्किएको छ ।

भन्दा पार्टीको प्रभावशाली संगठन भनिने तर केन्द्रमा जम्मा ४ जना मात्र पदाधिकारी रहेको कांग्रेसको तरुण दल जागरण अभियानमा विवादमा परेको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीकै बीचमा विवाद निम्तेको हो । अभियानका सावलमा अध्यक्ष बस्नेतले जिल्लालाई परिपत्र जारी गर्दै सक्रिय सहभागिता र सफल बनाउन निर्देशन जारी गरेका छन भने महासचिव शाहीले माउ पार्टीलाई नै चुनौति दिने गरी अभियान नौटंगी मात्र भएको वक्तब्य दिएका छन् ।

बस्नेत पार्टी सभापति देउवा निकट नेता हुन् भने शाही रामचन्द्र पौडेल निकट । पार्टीका प्रभावशाली जनवर्गीय संगठनको केन्द्र रिक्त रहेको अवस्थामा त्यसतर्फ ध्यान नदिने तर जागरणमा नाममा नौटंकी मात्र नेतृत्वले देखाएको भन्दै शाहीले नौटंकी अभियानको अर्थ नुहने वक्तब्य दिएका हुन् ।

कांग्रेसमा लामो समय देखि तरुण दलमा जम्मा ४ जनाको मात्र पदाधिकारी छ । विद्यार्थी संगठन नेविसंघमा भने त्यो पनि छैन । लामो समय देखि नेविसंघको केन्द्रीय समिति विघटनको अवस्थामा छ ।

‘भ्रातृ सस्थाका केन्द्रीय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्वबाट पार्टी जागरणको डंकामात्र फुकेर केही औचित्य नहुने म प्रष्ट पार्न चाहन्छु’ महासचिव शाहीले वक्तब्यमा भनेका छन् ।

उनले तरुण दललाई चार जनामा सीमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीका लागि लाजमर्दो विषय भएको भन्दै केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नु नौटंकीमात्र भएको बताएका छन् ।

परिपत्रको जुहारी
अध्यक्ष जीतजंग वस्नेतले पार्टी केन्द्रको अभियान सफल बनाउन जिल्ला कमिटिलाई परिपत्र गरेलगत्तै शाहीले पनि परिपत्र गरेका हुन् । बस्नेतले जागरण अभियानकै सन्र्दभ जोडेर परिपत्र जारी गरेका छन भने शाहीले अभियानको सन्दर्भ नजोडिकनै जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेका हुन् ।

शाहीले परिपत्रमा वीपी जयन्तिका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्न निर्देशन दिए पनि जागरण अभियानका बारेमा केही बोलेका छैनन् ।  काग्रेसले २४ भदौंमा विपि कोइरालाको जन्म दिनको अवसर पारेर दोश्रो चरणको जागरण अभियान चलाउन लागेको छ । त्यसका लागि ३३० ओटै प्रदेश सभाको निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधी समेत खटाएको छ ।

काग्रेसले वीपी जयन्तीमा भाद्र २४ गते वृक्षरोपण, फलफूल वितरण, सरसफाई लगायत  कार्यक्रम गर्ने, ‘भ्रष्टाचारमुक्त नेपाल–सुशासनयुक्त नेपाल अभियानअन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा अहिले देखिएको चरम भ्रष्टाचारको विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने’ लगायतका योजना राखेर जागरण अभियान चलाउन लागेको बताएको छ ।

उसले अभियानका क्रममा ७७ वटै जिल्लामा बढ्दो महँगी, वाइड बडी, न्यारो बडी लगायतका भ्रष्टाचार प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका विभिन्न विधेयक र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनविरुद्ध विरोध प्रदर्शन र सभा गर्ने बताएको छ ।

भातृ सस्थाले नै कांग्रेसको जागरण अभियानको बिरोध गरेपछि कांग्रेसमा केन्द्रीय नीति नै विवादमुक्त हुन नसकेको टिप्पणी शुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस