काठमाडौँ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २६१ रन बनायो । दुई सय ६२ रनको विजय लक्ष्य बङ्गलादेशले चार बल बाँकी छँदै चार विकेट गुमाएर पूरा ग¥यो । बङ्गलादेशको जितमा कप्तान अकबर अलीले अविजित रहँदै ९८ रनको योगदान दिए । प्लेयर अफ दी म्याच अलीले ८२ बल खेल्दै १४ चौका प्रहार गरे । यस्तै तौवहिद हृदोयले ६०, सामिम हुसेनले अविजित ४२ र मोहमुदुल हसन जोयले ४० रन बनाए ।
बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई तथा हरिबहादुर चौहान र राशिद खानले एक/एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पवनले १०९ बलमा एक छक्का र आठ चौकासहित ८१ रन बनाए । यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६, रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहितकुमार पौडेलले १४ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका लागि ताञ्जिम हसन शकिब र साहिन आलमले दुई/दुई विकेट लिए । नेपालले अन्तिम खेल मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ । जारी प्रतियोगितामा समूह ‘ए’बाट भारत र अफगानिस्तान तथा समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल प्रवेश गरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस