एउटै मञ्चमा प्रचण्ड–घनश्याम सवाल–जवाफ

सफल खबर संवाददाता

आइतबार, २२ भदौ २०७६, ०८ : २४
एउटै मञ्चमा प्रचण्ड–घनश्याम सवाल–जवाफ

काठमाडौं । सत्तारुढ दल नेकपाको अबको राजनीतिक बाटो ‘समाजवाद की पुँजीवाद’ भन्नेमा सार्वजनिक मञ्चमै नेताहरुका बीचमा सवाल–जवाफ शुरु भएको छ । नेकपा भक्तपुर जिल्ला सचिव डिपि ढकालद्धारा लिखित पुस्तक ‘पुजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ नामक पुस्तक सार्वजनिकिकरण कार्यक्रममा शनिबार एउटै मञ्चमा नेताहरुका बीचमा सवाल जवाफ भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्थायी समिति सदस्य घनश्याम भुषाल सवाल जवाफमा सहभागी थिए । पुस्तकमाथी नेताहरुले टिप्पणी गर्नु अगाडी नै विश्लेषक हरि रोकाले गास, वास र कपासका सवालमा कम्युनिष्ट नेतृत्वको दृष्टिकोण माग गरेपछि सवाल जवाफ रोचक वनेको थियो ।

रोकाले वालवच्चाले राम्रो पढ्न पाउनुपर्ने, दाल चामल अलिक सस्तो पाउनुपर्ने बाहेक आधारभूत जनताको सरकारसँग ठूलो अपेक्षा नरहेको भन्दै जनताको जीवनमा परिवर्तन खोजी गर्नुपर्ने मत राखेका थिए ।

त्यसपछि मञ्चमा बोल्न पुगेका नेकपा स्थायी समिति सदस्य घनश्याम भुषालले अनके तर्क उठाए । संविधानको प्रस्तावनामै समाजवाद उन्मुख देश लेखिनु, पार्टीको चुनावी घोषणापत्र देखि कार्यक्रम समाजवाद भएको बताए तर मुलुकको वस्तुगत धरातल र उपरी संरचना ‘दलाल पुजीवादी’ नै देखिनुले प्रश्न उठेको भन्दै नेताहरुले पार्टीको समाजवादको अबको बाटो कस्तो हुने भन्नेमा जिज्ञासा राखेका थिए ।

नेपालले अहिले अबलम्वन गरेको निर्वाचन पद्धतीले पैसा हुनेले मात्र निर्वाचन लड्न सक्ने, त्यसले मात्रै चुनाव जितेर पद लिने र फेरि थप पैसा कमाउने गरेको भन्दै नेपाल समाजवादमा जान्छ –जादैन भन्ने प्रश्न आफ्नै पार्टी नेतृत्वलाई गर्न चाहेको बताएका थिए ।

त्यसपछि हो मञ्चमा नेताहरुका बीचमा सवाल जवाफ चलेको । ‘राजनीति कस्तो छ भन्दा वेस जस्तो छ, संरचना त्यस्तै हुन्छ । वेस कस्तो छ ? दलाल पुजीवादी छ । राजनीति दलाल पुजीवादी छ । यसकोे वैधानिकता, निरन्तरता के ले पाउँछ भन्दा चुनावले पाउछ ।

प्रजातन्त्र, लोकतन्त्रका नाममा दलाल पुजीवादले निरन्तर आफैलाई पूर्नउत्पादित गरिरहन्छ ।’ भुषालको प्रश्न थियो, –‘चुनाव यस्तो प्रणाली जहा पैसा नहुनेले केही गर्न सक्दैन । चुनाव लड्नका लागि पैसा चाहिन्छ । पैसा हुनेले चुनाव लडछन । किन पैसा हुनेले चुनाव लडछन भने पद लिनका लागि । किन पद लिन्छ भने अझ बढी पैसा कमाउनका लागि । पद हिजोको भन्दा अझ वढी किन चाहियो भन्दा हिजोको भन्दा वढी पैसा कमाउनका लागि । यो कुरा मेटिएन भने नेपाल समाजवादमा जान्छ की जादैन ? म कमरेड प्रचण्डलाई सोध्न चाहान्छु ।’

मुलुकले अहिले समाजवाद खोजी गरेको भन्दै भुषालले त्यस्तो समाजवाद लेखिने –नलेखिने कुराको जवाफ क्रान्तिको नेतृत्व गरेर आएका कमरेड प्रचण्डले दिनुपर्ने बताएका थिए । अन्य नेताहरुको भन्दा यो वाटोमा प्रचण्डको भूमिका महत्वपूर्ण हुने खालको अभिब्यीक्त भुषालको थियो ।

भुषालले आफैलाई तोकेरै प्रश्न उठा्रएपछि प्रचण्डले पनि आफनो सम्वोधनका क्रममा आफु जिवित रहदासम्म समाजवादकै लागि लडेर मर्ने बताए । सगरमाथाको देशवाट विश्वलाई समाजवादको नयाँ मोडेल दिएर छोड्ने प्रतिवद्धता जनाउादै प्रचण्डले समाजवादको नेपाली मोडेलका विषयमा पार्टीभित्र महान् बहस चलेको बताए । उनले अरुको आन्धानुकुल गरेर भन्दा पनि नेपाली मौलिकताको समाजवादको मोडेल निर्माणका लागि पार्टीमा वहस चलेको बताएका हुन् ।

‘घनश्याम जीले मलाई ठाडठाडै प्रश्न गर्नुभयो । के हुन्छ कमरेड भनेर । समाजवादी मोडेल नेपालमा कस्तो हुने ? विश्वभरका अनुभवहरुको संश्लेषण कसरी गर्ने भन्ने ग्रेट डिभेडमा हामी छौं’ प्रचण्डको जवाफ थियो, –‘मैले हिजो जानेमानेको चिनियाँ मोडेल, रुसी मोडेल, भियतनामी मोडेल, क्यूवाको मोडेल, कुनै मोडेलको यान्त्रिक रुपले मैले भन्न सक्छु । तर एक्काइशौं शताब्दीमा हिजोका क्रान्ति– प्रतिक्रान्तिको संश्लेषण सहित अवको मोडेल यो छ भन्ने कुरा भन्नका लागि एउटा ठूलो वहस र संर्घषको वीचबाट हामी गुज्रिन जरुरी छ ।’

आफनो इच्छा आफु जिवितै रहदै नेपालबाट संसारभरका लागि समाजवादको अवको मोडेल यो हो है भनेर दिन सक्ने ठाउमा प्रयास गरिरहेको प्रचण्डको भनाई थियो ।

‘अहिले मान्छेहरुले भन्छन् – कम्युनिष्ट पार्टी भनेको जस्तो भएन । सरकार भनेको जस्तो भएन । सरकारबाट जे अपेक्षा थियो, विशाल कम्युनिष्ट पार्टी, त्यसको दुई तिहाई बहुमतको सरकार, ९÷१० लाख पार्टी सदस्य भएको पार्टीबाट रातारात चमत्कारको खोजी मानिसहरुले गरेका थिए, चमत्कार चाँही हुदैन ।’ प्रचण्डले भने ।

उनले पार्टीका सबै नेता –कार्यकर्ता समाजवादको नयाँ मोडेल खोजेर अगाडी वढ्ने या पुजीवादको अगाडी आत्मसमर्पण गर्ने भन्ने अग्निपरिक्षाको दोसाँधमा रहेको बताए ।

‘लडाई जारी छ । तपाई क्न कित्तामा हो । म समाजवादी कित्तामै रहेर मर्नेछु । म आफनो बारेमा पूरा विश्वासको साथ भन्न सक्छु,’ प्रचण्डले भने,–‘केही साथीहरु अहिले आत्तिनु भएको छ, केक न हुन्छ भनेको, पार्टीलाई दुई तिहाई जिताएको त एक –डेढ वर्ष भयो खासै राम्रो देखिएन भनेर । पेटी वुर्जुवाले जस्तो क्षणभरमा उत्तेजित हुने, क्षणभरमा निरास भएर भाग्ने कामले क्रान्तिलाई सफलतामा पु¥याउन सकिन्न । यसका लागि धेरै ठूलो त्याग, संर्घष र धैयर्ताको आवश्यकता छ ।’

उनले पार्टी नेता भुषालसँग यस विषयमा अन्य धेरै सार्वजनिक मञ्चमा पनि वहस गरेको भन्दै त्यसका लागि आफु सदैव तयार रहेको बताएका थिए ।

कार्यक्रममै नेकपाकै अर्का स्थायी समिति सदस्य तथा उर्जामन्त्री वर्षमान पुन अनन्तले आफु सरकारमा पनि रहेकोले भुषालले उठाएको विषयमा वहस गर्न अप्ठायारो भईरहेको बताएका थिए ।

‘घनश्यामजी को मा सबैले ताली पिट्नु भयो । मलाई अप्ठायारो भयो । म त मन्त्री पनि । हिजो हामीले शासक भन्थ्यौं । शासक हाम्रो पार्टी हो । हो के हो भन्ने अहिले अप्ठायारो भयो । अध्यक्षले ब्याख्या गर्नुहोला । हामीले खोजेको मौलिकता नै यही नेर हो ।’ पुनले भने ।

यद्यपी उनले खास अवस्थामा उपरिसंरचना मुख्य भएर आधार वदल्ने कुरा पनि माक्र्सवाद भित्रै पर्ने धारणा राखेका थिए । पुनले भने,–‘माक्र्सवादले आधार मुख्य , उपरिसंरचना सहायक भनेको छ ।

उपरीसंरचना खास अवस्थामा मुख्य हुन्छ, आधार सहायक हुन्छ । राजनीतिक प्रयत्नले उपरिसंरचना लिने र आधार वदल्ने भन्ने अर्थ अहिले वामपन्थीको कुरा हो । अहिले तिन ओटै तहमा हशामी कम्युनिष्टको सरकार छ । यस्तो अवस्थामा दलाल पुजीवादलाई बदल्न सेचतन प्रयत्न गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस