नेविसंघ नेतृत्वः शुभराम बस्नेतको नाममा नेतृत्व सकारात्मक

सफल खबर संवाददाता

शनिबार, २१ भदौ २०७६, १३ : ५३
नेविसंघ नेतृत्वः शुभराम बस्नेतको नाममा नेतृत्व सकारात्मक

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ नेतृत्वका लागि दौडधूप सुरु भएको छ । नेविसंघको तदर्थ समितिको नेतृत्व ३२ वर्षमाथिबाटै चयन गर्ने मोटामोटी सहमति भएपनि नेताहरुको दौडधूप सुरु भएको हो । 

१२औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत माघ २८ गते नैनसिंह महर नेतृत्वको ११ औँ निर्वािचत कार्यसमितिलाई राजीनामा गराउन लगाइए पनि ६ महिना बित्दासमेत नेविसंघ ले नेतृत्व पाउन सकेको छैन ।

अहिले भने भदौ २४ गते निर्धारित काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै नेविसंघ लगायतका भ्रातृ सङ्गठनमा नेतृत्व चयन गर्ने कसरत  पार्टीभित्र भइरहेको छ । यसैक्रममा नेविसंघमा पनि दौडधूप सुरु भएको हो । 

गत बुधबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले नेविसंघमा ३२ वर्ष उमेरमाथिको विद्यार्थीलाई ल्याउने सहमति भएको बैठकमा सहभागि एक नेताले जनाए । 

उमेर हदबन्दी विना नै नेविसंघमा नेतृत्व ल्याउने सहमति भएसँगै शुभराम बस्नेत, राजिव ढुंगाना, मनोजमणि आचाय, ऋषिजंग शाह र पुष्पबहादुर शाहको नाम देउवासामू  प्रस्तुत गरिएको बुझिएको छ ।

नेविसंघ स्रोतका अनुसार महामन्त्री पूर्णबहादुर खड्काले कृष्णप्रसाद सिटौलालाई पनि विश्वासमा लिएर बस्नेतलाई नेतृत्वमा ल्याउन सुझाएका छन् । बस्नेतको नाममा उपसभापति निधि पनि सकारात्मक देखिएका छन् ।

खड्काले बस्नेतको नामअघि सारेपछि निधिले नेविसंघका पूर्व महामन्त्री सरोज थापालाई नेतृत्वमा ल्याउनुपर्ने अडान छाडेको स्रोतको दाबी छ । योसँगै बस्नेतको सम्भावना बलियो भन्दै गएको छ । 

बस्नेत नेविसंघको ११ औँं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । यसैबीच बस्नेतले आफ्नो नेतृत्वमा दाबेदारी रहेको बताएका छन् । उनले सबै हिसावले आफू नेतृत्वका लागि सक्षम भएको भन्दै यसका लागि तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस