एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, १८ : ५५
एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका-३ बस्ने १५ वर्षीया किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने सम्साद मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-६ गणेशमान चोकमा सम्साद मिया र सोही महानगरपालिका-२ छप्कैया बस्ने माजिद आलमले कक्षा ९ मा अध्ययनरत ती किशोरीलाई एसिड प्रहार गरी घाइते बनाई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले एसिड प्रहार गर्नेमध्ये सम्साद मियालाई पक्राउ गरेको हो ।

एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ ।
फरार माजिद आलमको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस