आर्थिक समृद्धिविना गणतन्त्र धरापमा पर्ने खतरा : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, २० भदौ २०७६, १४ : ११
आर्थिक समृद्धिविना गणतन्त्र धरापमा पर्ने खतरा : प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आर्थिक समृद्धिविना गणतन्त्र धरापमा पर्ने खतरा रहेको बताउनुभएको छ ।

शुक्रबारबाट काठमाडौंमा सूरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल ‘टान’ को ४१ औं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताउनुभयो । उहाँले राजनीतिक नेतृत्व, नागरिक समाज र निजी क्षेत्रले मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको आर्थिक समृद्धिको यात्रालाई सफल बनाउन सकिनेतर्फ सरकारको पनि ध्यानाकर्षण गराउनुभएको थियो ।  

निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा आर्थिक रुपान्तरणको यात्रालाई अघि बढाउन सकिने भएकाले सोही अनुसारको नीति र कानुन निर्माण गरेर अघि बढ्न सरकारलाई उहाँले सुझाव दिनुभएको थियो ।

अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराउनुभयो । 

साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।  अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित  १७ पदका लागि निर्वाचन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस