सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया सकियो

भोलि दिउँसो स्वदेश फर्किने, आज दिनभर नेताहरुसँग सिंगापुरमै छलफलमा बस्ने

सफल खबर संवाददाता

विहीबार, १९ भदौ २०७६, ०७ : ४७
सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया सकियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको उपचार प्रक्रिया सकिएको छ । सिंगापुरको नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराईरहेका प्रधानमन्त्री ओलीको बुधबार उपचार प्रक्रिया पूरा भएको हो ।

उनले त्यहा प्लाज्मा फेरेसिस विधिको उपचार प्रक्रिया अवलम्वन गराईरहेका थिए । सात पटक सम्म गर्नुपर्ने प्लाज्मा फेरेसिसको सवै प्रक्रिया सकेर प्रधानमन्त्री अहिले स्वास्थ्यलाभ गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लहकार कुन्दन अर्यालले जानकारी दिए ।

ओली भोलि दिउँसो थाई एयरको प्लेनबाट मध्यान्ह साढे १२ वजे काठमाडौं फर्किने कार्यक्रम बनिसकेको पनि उनको सचिवालयले जनाएको छ । तर उपचार प्रक्रियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा काम गरे नगरेको बुझ्न भने अझै केही दिन लाग्ने उनका नीजि चिकित्सकहरुको भनाई छ ।

नेताहरुसँग सिगापुरमै परामर्श गर्ने प्रधानमन्त्री ओलीले सिंगापुरमै आज पार्टी नेताहरुसँग परामर्श गर्दैछन् । उनले नेता वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग समसामायिक राजनीति र पार्टी गतिविधिका विषयमा केन्द्रीत रहेर आज सिंगापुरमै परामर्श गर्न लागेका हुन् । दुवै नेता दिनभर जसो आज प्रधानमन्त्रीसँगै रहनेछन् । महासचिव पौडेल मंगलवार र गौतम हिजो वुधबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि सिंगापुर प्रस्थान गरेका थिए ।

पार्टीका तर्फबाट प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामनाका लागि नेताहरु विदेश पुगेका थिए । मंगलवार दुवै नेता सिंगापुर जाने तयारीमा रहेपनि अन्तिम समयमा गौतमले आफु नजाने भन्दै टिकट क्यान्सिल गराएका थिए ।

तर मंगलवार नै प्रधानमन्त्री ओलीले गौतमलाई टेलिफोन गरी सिंगापुर आउन आग्रह गरेपछि उनी पनि हिजो वुधबार त्यसतर्फ प्रस्थान गरेका थिए । अव उनीहरु प्रधानमन्त्रीसँगै भोलि नै स्वदेश फर्किने तयारी छ ।

दुई दिनपछि स्वदेश फर्किन लागेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न दिन विराएर नेकपाका नेताहरु पौडेल र गौतम किन सिंगापुर पुगे भन्नेमा नेताहरु नै आश्चर्यमा परेका छन् ।

कतिपय नेताहरुले अध्यक्ष प्रचण्डले पार्टी सचिवालय बैठक वोलाउन खोजेको र त्यसलाई छल्नका लागि सिंगापुर गएको चर्चा पनि गर्न थालेका छन् ।
 

प्रतिक्रिया दिनुहोस