देउवाको १३ मिनेटको भाषणमा पूरानै अलाप

‘कम्युनिष्ट अधिनायकवादविरुद्ध एकजुट भएर लडौं’ : देउवा

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, १० : ४३
‘कम्युनिष्ट अधिनायकवादविरुद्ध एकजुट भएर लडौं’ : देउवा

काठमाडौं । एजेण्डामा अलमिलएको प्रमुख प्रतिपक्षी कांग्रेसले अब के गर्ला ? केन्द्रिय समिति बैठक चलिरहदा सवै कांग्रेसीजनहरुको नजर पार्टी केन्द्रीय समिति बैठक तिरै थियो । पटक पटक स्थगित हुने र बस्दै आएको कांग्रेस केन्द्रीय समिति बैठकमा यसपटक एजेण्डा पनि टन्नै थिए – १६ ओटा ।

तर नेता कार्यकर्ताको अपेक्षा भन्दा विपरित फेरि कांग्रेसले आलटाल निर्णयमै केन्द्रीय समिति बैठक सक्काएको छ । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई यसपटक पनि कांग्रेसले पछ्याएको छ ।

उही वहस, उही निर्णय र उही संस्कारका बीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलवार राती सकिएको छ । कम्युनिष्ट अधिनायकवादका विरुद्ध लडन, संसदमा सरकारले ल्याउने विद्ययेकका विरुद्धमा वलशाली भएर प्रस्तुत हुन सभापति शेरवहादुर देउवाले नेताहरुलाई निर्देशन दिने बाहेक कांग्रेस नेता कार्यकर्तालाई शीर्ष नेतृत्वले थुमथुमाउने अर्काे अस्त्र यसपटक पनि दिएन ।

झण्डै १३ मिनेट जति मात्र समापन मन्तब्य राख्ने क्रममा सभापति देउवाले कम्युनिष्टहरु कमाउनिष्ट हुदै गएको, एकदलीय तानाशाही ब्यवस्था ल्याउन खोजेको र विद्ययेकहरु पनि त्यसै गरी ल्याएकोले हामीले पनि कम्युनिष्ट अधिनायकवादसँग जुध्नुपर्छ भन्ने वाहेक देउवाको १३ मिनेटको भाषणामा खास नयाँ कुरा केही थिएनन् ।

पार्टी महाधिवेशन, भातृ सस्थाहरुको भद्रगोलता, लगायतका एजेण्डा कांग्रेसको यो पटकको केन्द्रीय समितिले पनि जस्ताको तस्तै थाती राखेको छ । मात्र उसले विधान परिमार्जन लगायत विषयमा दुई साताभित्र प्रतिवेदन तयार पारी केन्द्रीय समितिमा बुझाउन अर्काे एउटा नयाँ कार्यदल बनाएको छ । त्यसभन्दा बाहिर गएर कांग्रेसले निर्णय लिन नसकेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार, कांग्रेसमा हिन्दु राष्टको पक्षमा जनमत भने पहिले भन्दा केन्द्रीय समितिमा बढ्दै गएको यो पटक देखिएको छ । केन्द्रीय नेताहरुले धर्म निरपेक्षताका कारण मुलुकमा अस्थिरता फैलन थालेको, क्रिस्यानीहरुको वढोत्तरी हुन थालेकोले हिन्दु राष्ट्रको पक्षमा उभिनु पर्नेमा नेताहरुले यो पटक अलिक खुलेर जोड गरेको ति नेताले बताए ।

पार्टीभित्र गुट उपगुट मौलाएको भन्दै शुरुमा आरोप प्रत्यारोप गरेका देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका बीचमा पनि खाली आफ्नो मनभित्रको पोको खोल्ने भन्दा नयाँपन खास केही आउन नसकेको ति नेताको भनाई छ ।

‘सभापति र रामचन्द्र दाईका उही पूरानै कुरा हुन्, पार्टीमा गुट उपगुट भयो भन्ने मात्र, तर गुट फेरि आ आफैले चलाईरहेकै छन्, नयाँ केही उहाँहरुमा पनि देखिएन,’ ति नेताले भने,–‘आफ्नै मनभित्र गुम्सिएर राखेको पोको खोल्ने काम उहाँहरुले गर्नुभयो । यो पोको खोल्ने क्रम उहाँहरु दुई जनाको जहिल्यै उस्तै हो । यसपटक पनि त्यस्तै भयो । ’

धामिर्क स्वतन्त्रताको वहसमा कांग्रेस नेताहरु उत्रेपनि सभापति देउवाले यो विषयमा चुक्क समेत वोलेनन् । वरिष्ठ नेता रामचन्द्रै पौडेलले भने धर्म निरपेक्ष राज्यमा फेरि धार्मिक कुरा उठाउन नहुने तर्क अगाडी सारेका थिए ।

अन्ततः बैठक केही खास उपलब्धीमुलक निर्णाय नगरी जागरण अभियान चलाउने, भ्रष्टाचार विरोधी अभियान चलाउने आदी इत्यादी भन्दै सकिएको छ ।

कार्यदल भने गठन
कांग्रेसले पार्टीभित्र फेरि अर्काे नयाँ कार्यदल भने केन्द्रीय समिति बैठकबाट जन्माएको छ । दुई महिनादेखि जारी केन्द्रीय समिति बैठक मंगलवार राती समापन गर्दै कांग्रेसले त्यस्तो कार्यदल बनाएको हो । केन्द्रीय सदस्य एन पी साउदको संयोजकत्वमा ७ सदस्यीय कार्यदल कांग्रेसले बनाएको छ ।

समितिमा नविन्द्रराज जोशी, प्रदीप पौडेल, गुरु घिमिरे, श्याम घिमिरे, गोविन्द्र भट्टराई र इश्वरी न्यौपाने सदस्य तोकिएका छन् ।  यो कार्यदललाई विधानलाई परिमार्जन गर्ने, एकरुपता दिने, नया निवेदन परेका भातृ सस्था , सुभेच्छुक, जनसम्र्पक समितिका विषयमा निर्णय गर्ने जिम्मा  दिईएको छ । यसलाई दुई साताभित्र काम सकेर तयार पारेको प्रतिवेदन केन्द्रीय समितिमा बुझाउन पनि निर्देशन गरिएको कांग्रेस नेताहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस