प्रधानमन्त्रीले फोन गरेरै बोलाएपछि बामदेव आज सिंगापुर जाने

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ०९ : ३५
प्रधानमन्त्रीले फोन गरेरै बोलाएपछि बामदेव आज सिंगापुर जाने

काठमाडौं । अचानक हिजोको सिंगापुर यात्रा स्थगित गरेका नेकपाका सचिवालय सदस्य वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री केपी ओली स्वयंले गौतमलाई टेलिफोन गरी सिंगापुर बोलाएपछि उनी आज दिउँसोको
फलाइटबाट सिंगापुर जान लागेका हुन् ।

गौतमका प्रेस सहयोगी समेत रहेका पत्रकार विश्वमणि सुवेदीका अनुसार गौतम आज दिउसो साढे एक वजे सिंगापुरका लागि उड्नेछन् । ओली शुक्रवार स्वदेश फर्किने कार्यक्रम छ ।

पार्टीभित्र गौतमलाई मिलाएर ओलीले संगठन विभाग मात्र होइन, विधानमै नभएको उपाध्यक्ष पद समेत दिलाएर उत्तराधिकारी बनाउन खोजिरहेको चर्चा अहिले नेकपाभित्र छ ।

मंगलबार सिंगापुर पुगेका पार्टी महासचिव विष्णु पौडेललाई ओलीले वामदेव नआउनुको कारण बारे सोधेका थिए । आफ्नो स्वदेश फिर्ताका वेला सँगै जाने गरी उनले महासचिव पौडेल र नेता गौतमलाई सिंगापुर बोलाएका थिए ।

उनीहरु अर्का अध्यक्ष प्रचण्डको समेत स्वास्थ्य लाभको कामना बोकेर सिंगापुर पुगेका थिए । गौतम नआएको देखेपछि प्रधानमन्त्रीले हिजो राती नै गौतमलाई फोन गरी सिंगापुर निम्ताएका थिए ।

‘तपाई यतै आउनुहोस्, सँगै स्वदेश फर्किनुपर्छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेका थिए । त्यसपछि नै उनी आज सिंगापुर जान लागेका हुन् । प्रधानमन्त्री ओली ५ भदौं देखि सिंगापुरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस