र्‍याडिसन होटलमा बामदेवको त्यो गोप्य भेट

सफल खबर संवाददाता

बुधबार, १८ भदौ २०७६, ०८ : ३९
र्‍याडिसन होटलमा बामदेवको त्यो गोप्य भेट

काठमाडौं । नेकपाका पाचौं वरियताका नेता तथा प्रस्तावित पार्टी उपाध्यक्ष वामदेव गौतम कार्यतालिका अनुसार चलेको भए यतिबेला सिंगापुरमा हुन्थे । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न र प्रधानमन्त्रीलाई सिंगापुरबाटै ‘पिकअप’ गर्नका लागि उनी र महासचिव विष्णु पौडेल सिंगापुर जाने कार्यक्रम बनेको थियो ।

सोमबार दिउँसो दुवै नेताका नाममा टिकट पनि बुकिङ भएको थियो । महासचिव पौडेलको सचिवालयले पौडेल र नेता वामदेव गौतम प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि सिंगापुर जाने र दुवै नेता २० गते प्रधानमन्त्रीसँगै स्वदेश फर्किने जानकारी सञ्चारमाध्यममा गराईएको थियो ।

तर मंगलबार विहान एक्काशी वामदेवले सिंगापुर जाने आफ्नो कार्यक्रम स्थगित गरे । महासचिव पौडेललाई उनले भने, –‘अहिले तपाई मात्रै जानुहोस, म जान नपाउने भए ।’ त्यसपछि गौतमका नाममा वुकिङ गरिएको टिकट क्यान्सिल गरिएको थियो ।

अनि गौतमको सचिवालयले विष्णु पौडेल मात्र जाने कार्यक्रम रहेको र वामदेव जाने कुनै कार्यक्रम नै नरहेको भन्दै प्रष्टिकरण दिने प्रयास गरेको थियो ।

बामदेवले आखिर किन सिंगापुर जाने कार्यक्रम अन्तिम समयमा किन क्यान्सिल गराए ? अहिले नेकपाभित्र यो विषय चर्चाको क्रममा छ ।

तर यसको भित्री कारण भने अर्काे रहेको बताईएको छ । सोमबार वेलुकी बामदेव लाजिम्पाट स्थित ¥याडिसन होटलमा देखिएका थिए । बैलुकी ८ वजे र्‍याडिसन होटलमा पुगेका गौतमले त्यहाँ पूर्व राजा ज्ञानेन्द्रका एक जना भित्रिया तथा पूर्व एडिसि पशुपतिभक्त महर्जनसँग झण्डै साढे २ घण्टा गोप्य वार्ता गरेको दरबारनिकट स्रोतले बताएको छ ।

गौतम र महर्जनका बीचमा झण्डै साढे २ घण्टाको वार्तामा के के कुरा भए भन्ने त खुलेको छैन । तर त्यो भेटपछि नै गौतमले सिंगापुर जाने आफ्नो कार्यक्रम क्यासिन्सल गराएको हुन सक्ने आशंका अहिले गर्न थालिएको छ ।

नेपालमा हिन्दु राज्य स्थापनाका लागि पूर्व राजा देखि दक्षिण भारतसम्म कुनै न कुनै रुपमा परिचालन भईरहेका बेला गौतमको पूर्व राजाका एडिसिसँगको भेट अर्थपूर्ण रहेको बताइन्छ । गौतम निकट स्रोतले यो भेटका बारेमा केही बोलेको त छैन । तर दरवार निकटले पनि गौतमसँग पशुपक्तिभक्त महर्जनको भेटको पुष्टि गरेको छ । ‘उहाँहरुका वीचमा भेटघाट भएको छ, ’ दरवारनिकट एक स्रोतले भन्यो, –‘त्यो भेट खासमा ब्यक्तिगत भेटघाट मात्र थियो । अन्य केही होइन ।’

पूर्व राजाका गतिविधि बढेकोमा पार्टीकै दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली देखि प्रचण्ड सम्मले चिहानमा पुगिसकेको राजतन्त्र फेरि सल्वलाउन थालेको र त्यो सैह्य नहुने टिप्पणी दिईरहेका बेला गौतमको उनीसँगको भेट के विषयमा थियो र किन भेट भयो ? भन्ने विषय अहिले खोजीको विषय वनेको छ । अझ गौतमको त्यो भेटपछि पूर्व निर्धारित सिंगापुरको भ्रमण किन स्थगित भयो ? यो संयोग थियो वा योजनावद्ध भन्ने विषयमा पनि अहिले चर्चा शुरु हुन थालेको छ । गौतमले भने पूर्व राजाको एडिसिसँगको त्यो साढे दुई घण्टाको भेटघाटका विषयमा कुनै जानकारी गराएका छैनन ।

यस अगाडी पनि कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा रहदा सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पनि पूर्व राजा ज्ञानेन्द्रलाई नै निर्मला निवासमा पुगेर भेट गरेका थिए । यद्यपी, पोखरेलले यो भेटघाट नभएको , आफु नेपाल ट्रष्टको सम्पतिको अध्ययनका लागि निर्मल निवास आसपासको क्षेत्रमा पुगेपनि त्यही भित्र भने प्रवेश नगरेको र पूर्व राजासँग भेट नभएको प्रष्टिकरण दिदै आएका छन् ।

तर त्यही बीचमा पूर्व राजाले भेटेका प्राध्यापक, अधिवक्ता लगायत झण्डै ५ दर्जन ब्यक्तिहरुसँग भने उनले इश्वर पोखरेलसँग पनि आफ्नो भेटघाट भएको बताएका थिए ।

नेकपाका नेताहरुले नै गुपचुप रुपमा पूर्व राजा वा उनका निकट ब्यक्तिहरुसँग किन भेट गरिरहेका छन भन्ने विषय भने खोजीको विषय बनेको छ ।
 

प्रतिक्रिया दिनुहोस