सितापाईलामा खुकुरी हानेर युवकको हत्या

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, १७ : ०६
सितापाईलामा खुकुरी हानेर युवकको हत्या

काठमाडौं  । नागार्जुन नगरपालिका-५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईला शरणपुर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका-२ घर  भएका २० वर्षीय साकार भन्ने सागर तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका-५ डाँडाखर्क घर भएका २३ वर्षीय सरोज भन्ने सुवास श्रेष्‍ठ रहेका छन् ।  

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घटना भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका(४ स्थित कम्फर्ट कोलनी नजिक फेला पारी पक्राउ गरेको हो । 

काठमाडौं नागार्जुन नगरपालिका-४ सितापाईलास्थित शरणपुरचोकमा झैझगडा भएको भन्‍ने जानकारी प्राप्त हुन साथ उक्त वृत्तबाट खटिएको प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थियो । घाइते बस्नेतलाई उपचारका लागि प्रहरीले मनमोहन अस्पताल स्वयम्भूमा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 
मादक पदार्थ तथा अन्य नशालु पदार्थको सेवनबाट मातेर मृतकसँग सामान्य विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रहार गरी भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।      
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस