सत्यनिरुपण आयोगमा रमण श्रेष्ठकै सम्भावना बलियो

सिफारिस समितिको बैठक आज बस्दै, श्रेष्ठको नाम थपेर सिफारिस गरिदै, तीन दिन उम्मेदवारका विषयमा प्रतिक्रिया बुझिने कार्यतालिका पनि बनाइदै

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, ०८ : १२
सत्यनिरुपण आयोगमा रमण श्रेष्ठकै सम्भावना बलियो

काठमाडौं । प्रमुख राजनीतिक दलहरुका बीचमा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष कसलाई बनाउने भन्नेमा लामैैं रस्साकस्सी चलेपनि आयोगको अध्यक्षमा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठकै सम्भावना बलियो देखिएको छ ।

कांग्रेस र नेकपाले आयोग अध्यक्षका लागि अगाडी सारेको फरक–फरक नाममा सहमति जुट्न नसकेपछि ४ भदौंमा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाबीचको छलफलमा श्रेष्ठको नाम सर्वसम्मत बनेको थियो ।

ओलीले गोविन्द बन्दी र देउवाले सूर्य ढुंगेललाई अध्यक्ष बनाउन चाहेका थिए । तर दुवै नाममा सहमति नबनेपछि प्रधानमन्त्री ओलीले सहमति जुटाउन देउवा र प्रचण्डलाई जिम्मा दिएका थिए ।

त्यसपछिको छलफलमा पनि आयोग अध्यक्षमा दुवै पक्षका आ–आफनो अडान रहेपछि विकल्पका रुपमा पूर्व महान्यायधिवक्ता श्रेष्ठको नाम कांग्रेस सभापति देउवाले नै अगाडी सारेका थिए ।

वाम पृष्ठभूमिका श्रेष्ठको नाम कांग्रेस सभापति देउवाले नै अगाडी सारेपछि त्यसैमा सहमति बन्यो । प्रमुख तीन नेतासहितको छलफलले श्रेष्ठलाई आयोग अध्यक्ष बनाउने अनौपचारिक सहमति पनि गरे ।

तर श्रेष्ठले यही बीचमा आफुले आयोगको नेतृत्व नलिने सार्वजनिक टिप्पणी गरिदिए । नेताहरुबाट आफुलाई आयोग अध्यक्ष बन्न प्रस्ताव आएपनि नबन्ने प्रतिक्रिया उनले दिए । तर पनि श्रेष्ठ नै आयोग अध्यक्ष बन्ने सम्भावना फेरि वलियो वनेर गएको तर्क अहिले राजनीतिक वृत्तमा चुलिएको छ ।

यो बीचमा शान्ति प्रक्रियाका सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविनका काम बाँकी छन् । यी कामका लागि दुई छुटाछुटै आयोग गठन गरेर निरुपण गर्ने दलहरुले तयारी गरेका छन् । यस अगाडीका दुवै आयोगले काम नसकेपछि पून नयाँ नेतृत्ववाट काम गराउन खोजिएको हो ।

यसका लागि आयोगमा रहनेहरुको नाम सिफारिस गर्न सरकारले गत चैत १२ गते सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायधिस ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनाएको थियो ।

यो समितिले लामो समय सम्म नाम सिफारिस गर्न नसकेको भनी आलोचना भईरहेका बेला राजनीतिक दलका शीर्ष नेतृत्वमा बनेको समझदारी पछि समितिले अव नाम सिफारिस गर्ने तयारी गरेको छ ।

सिफारिस समितिको बैठक आजै बस्दैछ । समितिको बैठकले सत्य निरुपणमा यस अगाडी नाम दर्ता भएका सहित रामण श्रेष्ठको पनि नाम थप गरेर सिफारिस गर्ने र वेपत्ता आयोगमा पूरानै टिमको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी ओली सम्मले सिंगापुरमै रहेर संसदीय दलका उपनेता सुवास नेम्वाङलाई आयोग गठनका प्रगतिका विषयमा जिज्ञासा राखेपछि नेम्वाङले प्रगति उन्मुख भएको प्रतिक्रिया दिएका थिए । स्रोतका भनाईमा नेम्वाङले प्रधानमन्त्रीलाई सुनाएको प्रगति उन्मुख परिणाम भनेकै आयोग अध्यक्षमा बस्न श्रेष्ठ तयार भएको भन्ने रहेको एक नेताले बताए । सिफारिस समितिले आज बैठक वसेर श्रेष्ठ सहितको नामको सूचि सार्वजनिक गर्ने र सिफारिस उम्मेदवारका विषयमा प्रतिक्रिया लिनका लागि तीन दिनको समय दिने गरी तयारी भएको छ ।

२० भदौंमा ओली स्वदश फर्केपछि बस्ने क्याविनेट बैठकले आयोग पदाधिकारी नियुक्ति गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस