प्रहरीद्वारा गोली हानेर एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, १८ : ३२
प्रहरीद्वारा गोली हानेर एक जना पक्राउ

काठमाडौं । गोली हानेर प्रहरीले बाँकेमा डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर प्रहरीले नरेन्द्र न्यौपानेलाई पक्राउ गरेको हो । बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाँभार घर भएका न्यौपानेको बाँया खुट्टामा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले जमुनाहा नाकाबाट न्यौपानेलाई पक्राउ गरी ल्याउँदै थियो । राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली प्रहरीले गोली चलाएको हो । अहिले उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

२०६८ सालमा बर्दियाकोो बाँसगढीमा संयुक्त राष्ट्र संघको गाडीमा हतियार देखाएर लुटपाट गरेको अभियोगमा न्यौपानेसहितका व्यक्तिलाई जिल्ला अदालत बर्दियाले ६ वर्ष कैद र २७ हजार ९ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनीहरु फरार थिए ।

प्रतिक्रिया दिनुहोस