एटीएम ह्याक प्रकरण

थप एक चिनियाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, ११ : २५
थप एक चिनियाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं । बैंकिङ प्रणालीमा आक्रमण गरेर करिब दुई करोड रुपैयाँ लुट्ने समूहका थप एक जना पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३६ वर्षीय सु लुसली रहेका छन् । सीसी टीभी फुटेजमा कैद भएको दृश्यको माध्यमबाट उनलाई आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरे ।
सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको डीएसपी बोगटीले जानकारी दिए । एटीएमबाट रकम निकाल्ने घटनामा संलग्न फरार अन्य दुई जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शनिबार काठमाडौं प्रहरीले दरबारमार्गबाट राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 

नाइके स्पेनमा
शनिबार मध्यराति काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको अपरेशनका क्रममा पक्राउ परेका अभियुक्तले नाइके स्पेनमा रहेको बयान दिएका हुन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार स्पेनमा बसेर परिचालन गरे पनि ती व्यक्ति चिनियाँ नागरिक नै हुन् । शुक्रबार साँझ एयर चाइनाको उडानमार्फत काठमाडौं ओर्लिएका झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ नाइकेले भाडामा प्रयोग गरेका व्यक्तिमात्रै भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामध्ये लियांग प्रविधिमा समेत दख्खल राख्छन् । उनले नै स्पेनमा रहेका ‘मास्टरमाइन्ड’सँग ल्यापटपमार्फत कम्युनिकेट गर्ने गरेको देखिएको अनुसन्धान अधिकृत स्रोत बताउँछ । ‘विदेशमा रहेको व्यक्तिबाट प्राप्त कोडलाई नक्कली एटीएममा उनैले इन्स्टल गर्ने गरेको देखिएको छ’, एक अधिकृतले भने, ‘इन्स्टल गरेपछि सबै बाहिर एक्टिभेट भएको खुलेको छ ।’
अधिकृतहरुका अनुसार दुई समूहमा खटिएका व्यक्तिले झोलाभरि रकम ल्याउँदै कोठामा जम्मा गर्ने गरेका थिए । तर, दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमममा अस्वाभाविक रुपमा रकम निस्किएको देखिएपछि प्रहरीले यो समूहको योजना विफल पारिदिएको छ ।

प्रतिक्रिया दिनुहोस