उपनिर्वाचनका लागि भदौं मसान्त सम्म दल दर्ता आह्वान

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, १० : १७
उपनिर्वाचनका लागि भदौं मसान्त सम्म दल दर्ता आह्वान

काठमाडौं । आगामी मंसिर १४ मा हुन लागेको उपचुनावका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गरी उपचुनावमा सहभागी हुन चाहने राजनीतिक दलहरुलाई दल दर्ताको आह्वान गरेको हो ।

प्रतिनिधीसभामा एक सहित प्रदेश र स्थानिय तहका गरी ५० स्थानमा उपचुनाव हुदैछ । यहाँका जनप्रतिनिधीहरु रिक्त रहेका कारण आयोगले त्यस स्थानमा उपचुनाव गराउन लागेको हो ।

चुनावमा सहभागी हुन चाहने दलले पहिले आफ्नो दल निर्वाचन आयोगमा दर्ता गराउनु पर्ने कानुनी ब्यवस्था छ । आयोगमा दर्ता भएका दलले मात्र चुनावमा सहभागी हुन पाउनेछन् ।

आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रियामा सहभागी हुन सबै दललाई आयोगले सार्वजनिक सूचना जारी गरि आग्रह गरेको छ ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा निर्वाचन पूर्व दल दर्ता गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, ०७४ को निर्वाचनमा सहभागी नभएका नया दलका लागि मात्र दल दर्ता आह्वान गरिएको हो । यसअघिको निर्वाचनमा सहभागी भइसकेका दलले भने उपनिर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्दैन । यसअघि ०७४ मा तीन तहमा निर्वाचन भएको थियो । 

प्रतिक्रिया दिनुहोस