एटीएम ह्याक प्रकरण

सर्वसाधारणको निक्षेप सुरक्षित छ : नेपाल बैंकर्स संघ

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, १५ : २५
सर्वसाधारणको निक्षेप सुरक्षित छ : नेपाल बैंकर्स संघ

काठमाडौं । नेपाल बैंकर्स संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ । शनिबार भएको एटीएम ह्याक प्रकरणले सर्वसाधारणको निक्षेपलाई कुनै असर नपर्ने उनले स्पष्ट पारे ।

चिनियाँ ह्याकरहरुको ह्याक गरेर एटीएमबाट डेढ करोडभन्दा बढी रकम चोरी गरेका थिए । चोरी गर्दागर्दै शनिबार ५ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्ष सुरक्षित भए नभएको प्रश्न उठेको थियो ।

चोरीमा संलग्नहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए । उनले भने, ‘केही रकम चोरी भएको छ तर बैंकहरु त्यो नोक्शान ब्यहोर्न सक्षम छन् । सर्वसाधारण निक्षेपकर्ताको नोक्सान हुँदैन । तपाईहरु डराउनुपर्दैन ।’

एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको नेपाल बैंकर्स संघले जनाएको छ ।
चोरी गर्दागर्दा थाहा पाएकाले ठूलो नोक्सानीबाट जोगिएको बैंकर्स संघको भनाइ छ । 

‘सिस्टममा मालवेयर अट्याक भएको देखिएको छ तर सफ्टवेयरको कुन पार्ट कम्प्रमाइज गरियो भन्ने छानविन भइरहेको छ’ उनले भनेका छन्, ‘भिसा सिस्टमबाटै स्वीकृति लिएर पैसा निकालेको देखिएको छ ।’

एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको उनले बताए । यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भए पनि बैंकले बेहोर्ने भन्दै निक्षेपकर्ताले आत्तिन नपर्ने उनले बताए । नोक्शान भएको रकममध्ये आधा रकम नगद नै जफत भएकोले धेरै तनाब पनि नभएको बताए ।

रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए । आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुगानाले बताए । ‘अहिले हामी सुरक्षित छौं, निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछुझ उनले भने ।

हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए । उनले पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस