सिंगापुरमा प्रधानमन्त्रीलाई दिल्लीबाट औषधी !

प्रधानमन्त्रीका निजि चिकित्सक डा दिब्या सिंह स्वदेश फर्केपछि दिल्लीबाट पठाइयो औषधी

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, ०८ : १०
सिंगापुरमा प्रधानमन्त्रीलाई दिल्लीबाट औषधी !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई सिंगापुरमा उपचार गर्दा औषधी भने दिल्लीबाट लगिएको खुलासा भएको छ । ५ भदौंमा फलोअप उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुरमा छन् ।

उनको त्यहाँको नेशनल युनिभर्सिटि हस्पिटलमा उपचार भइरहेको छ । गत शुक्रवारबाट शरीरमा बढेको एन्टिबडी निष्काशन गर्न एक दिन बिराएर प्लाज्मा फेरिसस गरिरहेका प्रधानमन्त्रीको अब भोलि सोमबार र वुधबार गरी दुई पटक प्लाज्मा फेरिसस गराउने तयारी छ ।

त्यसपछि मात्र शरीरमा बढेको एन्टिबडी घटे नघटेको विषयमा जानकारी हुने र थप उपचार प्रक्रियाका विषयमा चिकित्सकहरुले निर्णय लिने बताईएको छ ।

मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढी देखिएपछि थप उपचारका लागि प्रधानमन्त्री ओली १० दिनको बीचमै दोश्रोपटक सिंगापुर प्रस्थान गरेका थिए । उनी त्यहाँ कति दिन अझै बस्छन् भन्ने विषयमा केही खुलेको छैन । तर उनको नीजि सचिवालयले भदौं २० देखि २५ को बीचमा स्वदेश फर्किन सक्ने बताउदै आएका छन् ।

प्रधानमन्त्री ओलीसँगै सिंगापुर पुगेकी निजी चिकित्सक डा. दिव्या सिंह शाह नेपाल फर्किसकेकी छिन् । उनी सिंगापुरबाट स्वदेश फर्केपछि प्रधानमन्त्रीलाई सिंगापुरमा भारतवाट औषधी मगाएर पठाईएको स्रोतको दाबी छ ।

प्लाज्मा फेरेसिस गरिरहदा प्रयोगमा ल्याईएको औषधी सिंगापुरमा नभेटिएपछि दिल्लीबाट मगाएर नेपाल हुदै त्यहाँ पठाईएको बताईएको छ । यद्यपी, यो विषयमा प्रधानमन्त्रीको सचिवालयले कुनै खुलासा गरेको छैन । तर भारतीय पक्षले भने ओलीको उपचारका लागि सिंगापुरमा भारतबाट औषधी मगाएर पठाईएको जिकिर गर्दै आएको छ ।

‘प्रधानमन्त्रीका निजि चिकित्सक डा दिब्या काठमाडौं फर्केपछि भारतबाट औषधी मगाएर सिंगापुर पठाईएको छ,’ नेपालस्थित भारतीय दुतावास स्रोत भन्छ,–‘उपचार प्रक्रिया शुरु गरेपछि औषधी दिल्लीमा खोजी भएको थियो, डा दिब्या नेपाल आएपछि दिल्लीमा खोजिएको औषधी काठमाडौं ल्याई सिंगापुर पठाईएको छ ।’

एक दिन बिराएर प्रधानमन्त्रीलाई अहिले प्लाज्मा फेरिसस उपचार प्रक्रिया गत शुक्रवारबाट शुरु गरिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । उर्जामन्त्री वर्षमान पुन (अनन्त)ले उनलाई सिंगापुरमै पुगेर भेट गरेका छन् ।

भेटपछि मन्त्री पुनले सामाजिक सन्जालमार्फत प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका थिए ।

‘सिंगापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो र सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधबारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो र थप स्वास्थ्य लाभको कामना !’ मन्त्री पुनले लेखेका थिए ।

प्लाज्मा फेरेसिस पछि मात्र मिर्गौलाको थप परिक्षण र कार्यक्षमता जाँच गरेपछि उपचार विधिका बारेमा प्रष्ट हुन सकिने चिकित्सकले बताएका छन् ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई प्लाज्मा फेरेसिस गरेर एन्टिबडीको मात्रा हटाउनुपर्ने चिकित्सकले सुझाव दिएपछि यो विधि अनुसार उपचार शुरु गरिएको हो ।  प्लाज्यामा फेरेसिसद्वारा पनि उपचार हुन नसके विकल्पमा रुपमा डायलाइसिस र पुनः मिगौला प्रत्यारोपण गर्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस