संयोजक फेरिएपछि किसान महासंघमा लफडा

मन्त्री हुदाँ महिलामाथी अभद्र ब्यवहार गरेको भन्दै पदमुक्त भएका हरि पराजुली संयोजक तोकिएपछि विवाद

सफल खबर संवाददाता

आइतबार, १५ भदौ २०७६, ०७ : ३२
संयोजक फेरिएपछि किसान महासंघमा लफडा

काठमाडौं । सत्तारुढ दल नेकपाको किसान संगठन अखिल नेपाल किसान महासंघमा विवाद निम्तेको छ । पार्टीका पाँचौं वरियताका नेता तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमलाई यस अगाडी सचिवालयले संयोजक र चित्रबहादुर श्रेष्ठलाई सहसंयोजक बनाउने निर्णय गरेको थियो ।

गौतमले नै किसान महासंघको जिम्मेवारी चाहेपछि तत्कालिन माओवादी खेमाले उनलाई अभिभावकका रुपमा सहर्ष महासंघको संयोजक स्वीकार गरेको थियो । तर अहिले गौतमले उक्त पद छोडिसकेका छन् ।

पछिल्लो सचिवालय बैठकमा गौतमलाई पदमाथी पदको खातैखात लाग्न थालेपछि भने उनले संयोजक पद छोडेका हुन् । अहिले किसान महासंघको संयोजकमा हरि पराजुलीले जिम्मा पाएका छन् ।

गौतमलाई विधानमै नभएको उपाध्यक्ष पद स्थायी समितिबाट पारित गरेर दिइने, किसान महासंघकै इन्चार्ज, पार्टी संगठन विभागको प्रमुख जस्ता महत्वपूर्ण पद हात लागेको छ ।

जबस मोर्चाको संयोजकको जिम्मा ३ जेठमा मिलेपछि गौतमले संगठनको जिल्ला तहसम्मको एकता प्रक्रिया एक महिना पनि नवित्दै टुंगो लगाएका थिए । सँगै जिम्मेवारी पाएका अन्य संगठनले अहिलेसम्म केन्द्रीय समिति संख्या कति हुने ? सचिवालयमा को को रहने लगायतका विषय टुंग्याउनै सकस परिरहेका बेला गौतमले भने किसान महासंघको भटाभट सचिवालय, केन्द्रीय समिति, प्रदेश कमिटि देखि जिल्ला कमिटिसम्मका सवै संरचनाको टुंगो जेठ मसान्तभित्रै टुंगो लगाएका थिए ।

तर अहिले गौतमले संयोजकमा हरि पराजुलीलाई आफुले सम्हालेको संयोजक पद सुम्पेपछि विवाद निम्तेको छ । पराजुली तिनै ब्यक्ति हुन्, जो कृषीमन्त्री हुँदा असार १५ को धान दिवसमा एक जना महिलालाई अभद्र ब्यवहार गरेपछि त्यसबेला पदमुक्त भएका थिए ।
तस्वीर ः मन्त्रि हुदाँ पराजुलीले धान दिवसका दिन असार १५ मा किसान महिलामाथी अभद्र ब्यवहार प्रदर्शन गदैं ।

वामदेव गौतम निकट पराजुलीलाई गौतमकै पहलमा अहिले किसान महासंघको संयोजक सचिवालय बैठकले बनाउने निर्णय गरेको छ । तर पराजुलीभन्दा किसान संगठनमा लामो योगदान रहेका सहसंयोजक श्रेष्ठ भन्दा पराजुली सिनियर भए पछि संगठन भित्र विवाद निम्तेको हो ।

एक नेताका अनुसार, पराजुलीले संयोजक पाएपछि संगठनको कुनै तहको बैठक समेत उनले राख्न सकेका छैनन् ।

पूर्व माओवादी पक्षका किसान नेताहरुले पराजुलीलाई संयोजक स्वीकार नगरेका कारण विवाद भईरहेको महासंघका एक नेताले बताए । ‘पूर्व माओवादी तर्फका किसान नेताहरुले उहाँ (हरि पराजुली) लाई कसरी संगठनको संयोजक स्वीकार गर्ने ? भन्ने प्रश्न उठाईरहनु भएको छ,’ किसान महासंघका एक सचिवालय सदस्यले सफल खबरसँग भने,–‘सोही कारण पनि संयोजक (हरि पराजुली) ले बैठक राख्ने हिम्मत देखाउन सकिरहनु भएको छैन ।’

किसान महासंघभित्र श्रेष्ठ भन्दा जुनियर रहेको, किसान महिलालाई मन्त्री हुदा अभ्रद ब्यवहार गरेका कारण अलोकप्रिय रहेका ब्यक्तिलाई संगठनको जिम्मेवारी सुम्पिदा संगठनले गति लिन नसक्ने र काममा पनि प्रभावकारीता देखाउन नसक्ने भन्दै पूर्व माओवादी तर्फका किसान नेताहरुले पराजुलीलाई संयोजक स्वीकार कसरी गर्ने भन्ने प्रश्न नेतृत्वलाई गरिरहेका छन् ।

उनीहरुले पार्टी अध्यक्ष लगायत सचिवालयका नेताहरुलाई यो विषयमा ध्यानाकर्षण समेत गराएका छन् । पराजुली भने संगठन भित्रको विवादमा भूमिका निर्वाह गरिदिन गौतमलाई नै अहिले गुहार्न पुगिरहेको स्रोत बताउँछ ।


 

प्रतिक्रिया दिनुहोस