अज्ञात समुहद्धारा नेकपाका प्रमुख सचेतकको घरमा बम प्रहार

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, ०८ : ०७
अज्ञात समुहद्धारा नेकपाका प्रमुख सचेतकको घरमा बम प्रहार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ५ नम्बर प्रदेशका प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा बम प्रहार भएको छ ।

रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा गएराती ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

घटनामा परी कुनै मानविय क्षति भने भएको छैन । प्रमुख सचेतक ढकाल स्वयं भने बिरामी भएर काठमाडौंमा उपचार गराईरहेका छन् । उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

ढकाल सुत्ने कोठा, बाबाआमा सुत्ने कोठा र ढकालको गाडी लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । घटनापछि ईलाका प्रहरी सैनामैना प्रहरी निरिक्षक नेतृत्वको टोली घटना स्थलमा पुगेको छ । घटना कसले गराएको भन्ने खुल्न सकेको छैन ।

तर पछिल्ला दिनमा  जनप्रतिनिधीहरुमाथी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आक्रमण बढाएकोले यो घटना पनि सोही समुहबाटै भएको हुन सक्ने आशंका गरिएको छ ।

पछिल्ला दिनमा एकै समय पारेर एनसेल माथी आक्रमण, स्थानिय वडा कार्यालयहरुमाथी आक्रमण हुदै आएको थियो भने अहिले नेताहरु लक्षित आक्रमण हुन थालेको छ ।

केही दिन यता लगातार कर्णालीका मुख्यमन्त्री लक्षित आक्रमण कालिकोटमा भईरहेका बेला प्रदेश ५ का नेकपाका प्रमुख सचेतकको निवासमा पेट्रोल बम प्रहार भएको हो ।
 

प्रतिक्रिया दिनुहोस