किन गुपचुप राखिदैछ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

सफल खबर संवाददाता

शुक्रबार, ३१ साउन २०७६, ०७ : ३८
किन गुपचुप राखिदैछ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली फेरि अस्वस्थ्य भएका छन् । सोमबार मात्रै सिंगापुरबाट १० दिन उपचार भ्रमण गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीलाई विहिवार पून : ज्वरो आउने र बल्डप्रेसर तलमाथी हुने समस्या देखिएको थियो ।

देशका कार्यकारी प्रमुख केही समययता अस्वस्थ्य छन् । उपचारका लागि सिंगापुर सम्म पुगेर फर्किए । फेरि स्वदेश फर्केपछि पनि ज्वरो आएर बिरामी भएपछि पार्टी बैठक नै समेत रोकिएको छ ।

तर पनि प्रधानमन्त्रीलाई भएको चाँही के छ ? परिवार, चिकित्सक र उनको नीजि सचिवालय समेतले केही बताएका छैनन् । गुपचुप नै राखिएको छ । कुनै रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

दुवै मृगौला ड्यामेज भएपछि २०६४ असारमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । भारतको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण विशेषज्ञ डा अन्नत कुमार नेतृत्वको चिकित्सक टोलीले ओलीको मृगौला प्रत्यारोपण गरेको थियो ।

अरुको मृगौला शरीरमा राख्नु र त्यसमार्फत शरीर सञ्चालन गर्नु स्वभाविक र प्राकृतिक प्रक्रिया होइन । जुन १२ वर्ष अगाडी ओलीमा गरिएको थियो । त्यसैलाई मृगौला प्रत्यारोपण भनिन्छ ।

अरुको शरीरबाट ल्याएर राखिएको मृगौलालाई नचिन्ने भएकोले स्वीकार गर्दैन । त्यसले आक्रामण गरेर नष्ट पार्न खोज्छ । त्यस्तो हुन नदिन शरीरको प्रतिरक्षा प्रणालीलाई औषधी दिएर कन्ट्रोलमा राख्ने काम मृगौला प्रत्यारोपण गरिएका ब्यक्तिहरुमा गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीमा पनि सोही कारण प्रेड निसोलोन, साइक्लो स्पोरिन, माइक्रोफिनालेट मोफेहिल, अजरोन, ट्याक्रोलिमस, सिरोनिमास लगायतका औषधी चिकित्सकहरुले प्रयोग गर्दै आईरहेका छन् ।

तै पनि प्रधानमन्त्री ओलीलाई बेला बेला पोष्टेड ग्न्थी बढ्ने, खानेकुरा पचाउन नसक्ने गरी गिजा सुन्निने, पाइलका कारण धेरै रक्तश्राव भएर रगतमा हेमोग्लोविनका मात्रा अत्यन्त कम हुने, रक्तचाप न्यून हुने र सुगरको मात्रा बढ्ने जस्ता समस्याहरु देखिदै आएको थियो ।

यस्ता समस्याका कारण उनलाई चिकित्सकहरुले नियमित स्वास्थ्य परिक्षण गर्न, आराम र औषधी सेवन गर्दै खानपानमा ध्यान दिन सुझाव दिदै आएका थिए । तर पनि प्रधानमन्त्रीको दैनिक ब्यस्तता, चापका कारण प्रधानमन्त्रीले आराम गर्न सक्दो समय निकाल्न सकिरहेका छैनन् ।

यही बेला प्रधानमन्त्री ओली नियमति अस्वस्थ्य देखिएका छन् । सैनिक अस्पताल देखि सिंगापुरसम्म पु¥याएर उपचार गराईएको छ । तैपनि उनको निजि चिकित्सक, निजी सचिवालय कोहीले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा देशवासीलाई कुनै जानकारी गराएको छैन । जसकाकारण ओलीको सचिवालयको आलोचना भईरहेको छ ।

विदेशबाट उपचार गरेर फर्केपछि फेरि उनी विरामी परेका कारण नेकपा सचिवालय बैठक स्थगित भईसक्दा सम्म उनको स्वास्थ्य अवस्था जानकारी गराईएको छैन । सोमबार स्वदेश फर्किने बेला आफु ठीक रहेको र केही दिनमा अवस्था थाहा पाईहाल्नुहुने प्रधानमन्त्रीले बताएका थिए । निवास फर्केपछि आफु सामान्य अवस्थामा रहेको सामाजिक सन्जालमा उनले अपडेट गराएका थिए ।

बिहिबार उनकै स्वास्थ्यका कारण पार्टी बैठक स्थगित भएपछि उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ । उहाँ भोलि बिहानैबाट नियमित भेटघाट र बैठकहरुमा संग्लन्न रहनुहुनेछ ’ भनेर ट्वीट भने गरेका छन् । यतिले मात्र प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सर्वसाधारणले चित्त बुझाईरहेका छैनन् ।

मृगौला प्रत्यारोपण पछि नै प्रधानमन्त्री ओलीलाई यस अगाडी पनि २०६९ साल कात्तिक ९ मा अस्वस्थ्य भएपछि एअर एम्बुलेन्समार्फत भारतको गुडगाँउस्थित मेदान्त मेडिसिटी अस्पताल लगिएको थियो । त्यसबेला उनी ढेड साता उपचार गरी स्वदेश फर्किएका थिए ।

त्यसपछि पनि २०७० को अन्तिमतिर ओलीलाई यूरिक एसिड बढेपछि त्यसको पनि समस्या देखिएको थियो । उनको दाहिने हातमा समस्या देखिएपछि घामबाट जोगाउन उनले सेतो टालोले हात बाँधेर हिडेका थिए ।

दोश्रोपटक प्रधानमन्त्रीको बागडोर सम्हाल्नु अगाडी पनि उनले थाइल्याडमा पुगेर उपचार गरेर फर्केका थिए । प्रधानमन्त्री भएपछि पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचारका लागि तीन दिन भर्ना नै भएर बसेका थिए ।

लगातार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखिन थालेको यो खाले समस्याले पनि सर्वसाधारणहरुले ओलीको स्वास्थ्यका बारेमा निक्कै चासो र चिन्ता देखाईरहेका छन् । देशका कार्यकारी प्रमुखमाथीको स्वास्थ्य अवस्थाका बारेमा उनको नीजि सचिवालयले केही नबताई गोप्य राख्दा भने सर्वसाधारणले निक्कै आलोचना गर्दै प्रश्न गरिरहेका छन्, –अखिर प्रधानमन्त्रीलाई भएको छ के ?

प्रतिक्रिया दिनुहोस