पुडासैनी आत्महत्या प्रकरणमा नयाँ ट्वीस्ट : अस्मिता भनिने रुकु कार्की प्रहरी संरक्षणमा

सफल खबर संवाददाता

विहीबार, ३० साउन २०७६, १७ : ५४
पुडासैनी आत्महत्या प्रकरणमा नयाँ ट्वीस्ट : अस्मिता भनिने रुकु कार्की प्रहरी संरक्षणमा

काठमाडौं । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ‘अस्मिता’ भन्ने रुकु कार्कीलाई प्रहरीले संरक्षण गरी राखेको छ । 

कार्कीको ‘सुरक्षामा चुनौति’ थपिन सक्ने हुनाले प्रहरी संरक्षणमा राखिएको हो । पछिल्लो समय अस्मितालाई दबाब दिने र तनाव दिने काम बढेको र घटना नयाँ मोडतर्फ जान सक्ने भएको हुनाले प्रहरीले संरक्षणमा राखेको स्रोतले जानकारी दिएको छ ।  

प्रमाण नष्ट हुने र घटना अन्यत्रै मोडिन सक्ने देखिएपछि प्रहरीले अस्मितालाई आफ्नो नियन्त्रणमा राखेको जनाएको छ । रुकुलाई विभिन्न प्रलोभनका साथै खतरा हुने निष्कर्ष प्रहरीले निकालेपछि संरक्षणमा लिइएको स्रोतले जनाउँछ । 
तर चितवन प्रहरीले यसलाई स्वीकार गरेको छैन ।   

काठमाडौं प्रहरीसँगको समन्वयमा अस्मितालाई चितवन लगेको थाहा भएको छ । तर, चितवन प्रहरीले कुनै रुकुलाई पक्राउ नगरिएको जनाएको छ । संरक्षण गर्नका लागि काठमाडौंबाट चितवन किन लानुपर्याे भन्ने प्रहरीले स्पष्ट पारेको छैन ।  

पत्रकार पुडासैनीले साउन २० मा आत्महत्या गर्नुअघि अस्मिता, पत्रकार रवि लामिछाने र युवराज कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो बयान सार्वजनिक भएको थियो । फोरेन्सिक रिपोर्ट र पोष्टमार्टम रिपोर्टपछि अदालतको अनुमति लिएर थप कानुनी कारवाही अघि बढाइने चितवन प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस