काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेर नयाँ रेकर्ड कायम गरेको छ । तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको हो ।
नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबारको तुलनामा छापावल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ ।
पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री हुँदैन । महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन ।
यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन बैंकमा थुप्रिएको छ । सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।
व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ साउन २०७६, १२ : ४१
लेखकबाट थप