ग्लोबल टी–२० क्यानडाको उपाधि सोमपालको विनिपेग हक्सलाई

एजेन्सी

सोमबार, २७ साउन २०७६, ०९ : ५०
ग्लोबल टी–२० क्यानडाको उपाधि सोमपालको विनिपेग हक्सलाई

एजेन्सी । ग्लोबल टि–२० क्यानडाको उपाधि नेपाली तीब्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै विनिपेग हक्स च्याम्पियन बनेको हो ।

रोचक खेलमा हक्सले सुपर ओभरमा १० रनको लक्ष्य पाएको थियो । जसमा हक्सले चार बलका लक्ष्य पूरा गरेको थियो । यससँगै सोमपाल विदेशी फ्रेन्चाइज लिगको उपाधि जित्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । यद्यपि सोमपालले खेल्न भने पाएनन् । अघिल्ला खेलमा कमजोर प्रदर्शन गरेका कारण उनी बाहिर थिए ।

एक सय ९३ रनको विजयी लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९२ रन बनाएको थियो । भ्यानकुभरको लागि कप्तान सोयब मल्लिकले ६४ रन बनाए । आन्द्रे रसेलले अविजित ४६ रन बनाएका थिए । रस्सि भानडर दुसेन २३, ड्यानियल सम्सले २१ र शाख बीन जफार २७ रन बनाए । हक्सका कप्तान रायद इम्रिट र पल भान मेर्करेनले दुइृ दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ९२ रन बनाएको थियो । हक्सका लागि शैमन अनवारले ९० रन बनाए । क्रिस लिनले ३७, जेपी ड्युमिनीले ३३ र हमजा तारिकले १५ रन बनाएका थिए । भ्यानकुभरका आन्द्रे रसेलले चार  विकेट लिए । अली खान र रयान पठानले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस