चनौली शीतभण्डार माघदेखि सञ्चालनमा आउने

सफल खबर संवाददाता

विहीबार, २३ साउन २०७६, ११ : ४७
चनौली शीतभण्डार माघदेखि सञ्चालनमा आउने

चनौली । पश्चिम चितवनको चनौलीमा निर्माण भइरहेको चितवन चनौली शीतभण्डार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । बुधबार भरतपुर महानगरपालिका वडा नं १८ स्थित शीतभण्डार सहकारी संस्था लि. ले संस्थामा आबद्ध शेयर सदस्यहरुका बीचमा गरेको शीतभण्डारको हालको अवस्था, वित्तीय विश्लेषण तथा भावी कार्यदिशा विषयक कार्यशाला गोष्ठीमा उक्त जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन ३ ‘क’ का प्रदेशसभा सांसद् कृष्णप्रसाद भूर्तेलले कृषिप्रधान देश नेपालमा अझै पनि करिब ७० प्रतिशत जनसंख्या परम्परागत कृषि पेसामा नै निर्भर रहेको र तिनलाई सामूहिक खेतीतर्फ आर्किर्षत गरी व्यावसायिकरुपमा अभिमुख गराई कृषि व्यवसायलाई राष्ट्र विकासको मेरूदण्डका रुपमा रुपान्तरण गर्ने आवश्यकता रहेको बताएका छन् । 

कार्यक्रममा बोल्दै भरतपुर माहानगरपालिकाकी मेयर रेनु दाहालले पश्चिम चितवनमा बन्दै गरेको सुविधासम्पन्न र धेरै क्षमता भएको शीतभण्डार प्रदेश नं ३ कै गौरव भएको बताइन् । यो ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको विकासका लागि वरदान सावित हुने उनको भनाइ थियो ।

कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ चार्टर एकाउन्टेन्ट भानु कँडेलले २०७०/१/२७ गतेदेखि निर्माण कार्य सुरू भएको शीतभण्डार भवनको ९० प्रतिशत काम पूरा भइसकेको बताए । 

कृषि उत्पादनका रुपमा फलफूल, दुग्धजन्य र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्नका लागि स्टील संरचनामा बनेको देशकै पहिलो र अत्याधुनिक लिफ्टसहितको ५ तले शीतभण्डार सञ्चालन हुने प्रबन्धकीय सचिव सूर्यमणि पौडेलले जानकारी दिए । भण्डारको भुइँतलामा मासुलगायतका पदार्थहरु भण्डारण गर्न मिल्ने गरी निर्माण भइरहेको छ । त्यसपछि आलु, फलफूलहरु भण्डारण गर्न मिल्ने गरी बनाइँदै गरेको पौडेलले बताए ।

शीतभण्डारको कुल क्षमता २५ सय मेट्रिक टन हुने प्रबन्धकीय सचिव पौडेलले जानकारी दिए । मौसमअनुसार उत्पादन हुने कृषि उपजहरुलाई शीतभण्डारमा भण्डारण गरेपछि नष्ट नहुने र किसानले आफ्नो परिश्रम र उत्पादनको सही मूल्य प्राप्त गर्ने उनको भनाइ छ ।

आफ्ना उत्पादनहरु सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पीपीसीपी मोडलको आधुनिक उपकरण भएका कारण यो उपयोगी रहेको कार्यक्रममा सभापतिसमेत रहेका शीतभण्डार सहकारी संस्था लि. का अध्यक्ष तीर्थराज रेग्मीले बताए । 

भरतपुर महानगरपालिका वडा नं १८ मा रहेको सो भण्डारमा मध्य क्षेत्रका चितवन, नवलपरासी, मकवानपुरलगायत २३ जिल्लाका संस्था र सर्वसाधारणको शेयर रहेको छ । शीतभण्डार प्रदेश सरकार सहकारी विभागको ६० प्रतिशत अनुदान र सहकारी संस्था एवम् त्यसमा आबद्ध किसानको ४० प्रतिशत साझेदारीमा सञ्चालन हुने भएको हो । चनौली शीतभण्डार मध्यमाञ्चलकै अत्याधुनिक परियोजना हो ।  

प्रतिक्रिया दिनुहोस