के थियो विद्यार्थीको सुसाइट नोटमा ? शिक्षकविरुद्ध किटानी जाहेरी

सोमबार, १३ साउन २०७६, १६ : ५७
के थियो विद्यार्थीको सुसाइट नोटमा ? शिक्षकविरुद्ध किटानी जाहेरी

धनगढी । विद्यार्थीले सुसाइट नोटमा शिक्षकका नाम उल्लेख गरेपछि परिवारले शिक्षकविरुद्ध किटानी जाहेरी दिएका छन् । 
आफ्नो छोरालाई शिक्षकले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै मृतकका वुवाले शिक्षकविरुद्ध किटानी जाहेरी दिएका हुन् । 

भीमदत्त नगरपालिकामा रहेको लिटिल बुद्ध एकेडेमीमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय सुरज लेखकले भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको आफ्नै घरको कोठामा झुन्डियर आत्महत्या गरेका थिए। उनले आत्महत्या गर्नु अघि नोटसमेत लेखेका थिए । हरिलाल जोशी एलबिए प्लस टु कोअर्डिनेटर नै हन् भनेर ‘मर्नुको कारण’ खुलाएका थिए । 

मृतक सुरजका बुवा गणेश दत्त लेखकले ‘सुसाइड नोटमा’ मा उल्लेख भएको नाम विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएको बताए। उनले दिएको जाहेरीमा घटनाको सत्य, तथ्य छानबिन गरी दोषिमाथी कारबाहीको माग गरिएको छ।

बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक समेत रहेका गणेशले छोरालाई विद्यालयबाट तनाव दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै शिक्षक जोशी विरुद्ध किटानी दिएको बताए। लेखकले शिक्षक हरिलाल जोशी विरुद्ध आत्महत्या दुरुत्साहन’ सम्बन्धी किटानी दिएका छन्।

‘‘सुसाइड नोटमा’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताए। उनले भने–‘प्रकृयागत रुपमा घटनाको अनुसन्धान भइरहेको छ, अहिले सम्म शिक्षक हरिलाल जोशीलाई पक्राउ भने गरिएको छैन।’

लिटिल बुद्ध ऐकेडेमी प्लस टुका संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा साथीसँग चुरोट खाइरहेको देखेपछि सुरज सहित उनका साथी आशिस चन्द र मनिस विष्टलाई विद्यालयमा बोलाएर सम्झाई बुझाई गरिएको जनाए।

विद्यालयकै अर्का शिक्षक दुर्गा दत्त अवस्थीले तीनै जनालाई दुई दुई थप्पड हानेको बताउँदै उनले तीनै जना विद्यार्थीबाट कागज बनाएको समेत बताए। तीनै जना विद्यार्थीले एलबिएका संयोजकलाई सम्बोधन गरेर कलेज नआएको बारे निवेदन सहित औठाँछाप समेत लगाएका छन्।

जोशीले मृतक लेखक बाहेकका दुई जनालाई तत्कालै अभिभावकको जिम्मा लगाईएपनि लेखकको घरमा फोन नउठेको बताए। लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई आइतबार सेवाबाट हटाएको छ। प्रिन्सिपल श्याम सिह मौनीले विद्यार्थीले गरेको सुसाइट नोटमा शिक्षक जोशीको नाम उल्लेख भएकाले उनलाई सेवाबाट हटाएको जानकारी दिए।

निलम्बित शिक्षक हरिलाल जोशीले प्रशासनिक अभिभावकत्व पुरा गरेको तर भाग्य बिग्रदा यस्तो अवस्था आएको प्रतिकृया दिए। उनले भने–‘प्रशासनिक अभिभावकत्व बहन गर्न खोज्दा भाग्य बिग्रेको बेला मलाई आरोप लाग्यो।’ मृतक विद्यार्थी सुरजले सुसाइट नोटमा लेखेका थिए ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन।’

प्रतिक्रिया दिनुहोस