सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

आइतबार, १२ साउन २०७६, १५ : ४०
सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने

कास्की । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा रहेको ह्यान्डबल एकेडेमीको मैदानलाई स्तरोन्नति गर्नका लागि उपभोक्ता समिति गठन गरेर सागको तयारी शुरु भएको छ भने खेलाडीहरुको बन्द प्रशिक्षणलाई व्यवस्थित गर्न पनि समिति गठन गरिएको छ । 

राष्ट्रिय खेलकूद परिषद्ले सागलाई लक्षित गरेर मैदानको मर्मतसम्भार तथा स्तरोन्नतिका लागि चालू वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट बिछ्याउने कार्यक्रम रहेको नेपाल ह्यान्डबल सङ्घका केन्द्रीय अध्यक्ष तेज गुरुङले बताउनुभयो । 

मैदानको ढलानसहित म्याट ओछ्याउन करिब रु एक करोड २५ खर्च लाग्ने अनुमान गरिएको गुरुङले जानकारी दिनुभयो । योगेन्द्रबहादुर बस्नेतको संयोजकत्वमा गठन गरिएको नौ सदस्यीय मैदान स्तरोन्नति उपभोक्ता समिति उपाध्यक्षमा राम गुरुङ, सचिवमा श्रीकृष्ण अधिकारी तथा कोषाध्यक्षमा शान्ति थापा हुनुहुन्छ ।

त्यसैगरी सदस्यहरुमा खिम गुरुङ, विश्व तण्डुकार, पदम नेपाली, मोहन गुरुङ र टीकाराम पुन रहनुभएको कास्की जिल्ला ह्यान्डबल सङ्घका कार्यवाहक अध्यक्ष चित्र गुरुङले बताउनुभयो ।

सागअघि मैदानको स्तरोन्नति सम्पन्न गर्नका लागि तीव्रताका साथ काम शुरु गरिने समितिका अध्यक्ष गुरुङले बताउनुभयो । सागअन्तर्गत महिला तथा पुरुषको ह्यान्डबल खेल पोखरामा हुने भएकाले बन्द प्रशिक्षणसमेत पोखरामा नै सञ्चालन गरिने सङ्घले जनाएको छ । बन्द प्रशिक्षण व्यवस्थित गर्नका लागि एक समिति गठन गरिएको छ । 

गण्डकी प्रदेशसभाका सदस्य तथा ह्यान्डबलका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितिको संयोजकमा र सङ्घका सचिव केशव पाठक बसोबास तथा यातायात समिति संयोजक हुनुहुन्छ । सङ्घका सचिव पाठकका अनुसार आगामी एक साताभित्रमा बन्द प्रशिक्षण शुरु गरिने र प्रशिक्षणमा २८ पुरुष र २८ महिला सहभागि हुनेछन् । (रासस) 
 

प्रतिक्रिया दिनुहोस