हामी पुष्पलालका उत्तराधिकारी हौं : प्रचण्ड

हामी नाटकिय ढंगले एक ठाउमा आईपुगेका होइनौं

सफल खबर संवाददाता

मंगलबार, ०७ साउन २०७६, ०९ : ४५
हामी पुष्पलालका उत्तराधिकारी हौं : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष  तथा पूर्वप्रधानमन्त्री प्रचण्डले अहिले रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको बताएका छन् ।

४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज किर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गदै पुष्पलालको सोच अनुसारकै विभाजित कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर उत्तराधिकारी बन्ने काम गरेको बताएका थिए ।

उनले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको पनि बताए । पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको प्रचण्डको भनाई थियो । एकता नाटकिय ढंगले नगरिएको भन्दै निक्कै सुभ,बुझपूर्ण निर्णयका आधारमा गरिएको प्रचण्डले बताए । स्पष्ट विचार, राजनीति, विधि पद्धतीका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा प्रचण्डको जोड थियो ।

पार्टी एकताका काम करिब निष्र्कषतिर पुगेको भन्दै उनले अब केही बाँकी कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि प्रचण्डको भनाई थियो । कार्यकर्तालाइृ, जनतालाई उत्साहित गर्ने गरी र शुसासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउने प्रचण्डले बताए । निर्वाचनकै बेला गठबन्धन बनाए देखि नै प्रतिक्रियाबादीहरुले गठबन्धन भत्काउन अनेक षडयन्त्र गरेपनि त्यो सफल नभई पार्टी एकतासम्ममा आईपुगेको चर्चा गदै प्रचण्डले पार्टी एकता गरेर असाधारण काम भएको बताएका थिए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा प्रतिष्ठान अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस