पुष्पलाल स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइँदै

सफल खबर संवाददाता

मंगलबार, ०७ साउन २०७६, ०७ : ४२
पुष्पलाल स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज विविध कार्यक्रम गरी नेपालका कम्युनिष्टहरुले मनाउँदै छन् । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल अध्यक्ष रहेको पुष्पलाल प्रतिष्ठानले किर्तिपुर नगरपालिका–४ मा रहेको चम्पादेवीमा अहिले बिहान एक कार्यक्रमको आयोजना गरी पुष्पलाल स्मृति दिवसको कार्यक्रम आयोजना गर्न लागेको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्य तथा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डको विशेष आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । वि.सं. २००६ साल वैशाख १० मा पुष्पलाल सहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यले मिलेर भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । वि.संं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा पुष्पलाल जन्मिएका थिए । उनी सहिद गंगालाल श्रेष्ठका भाई समेत थिए । पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । नेपाली काग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे । अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।
 

प्रतिक्रिया दिनुहोस