काठमाडौं । सत्तारुढ दल नेकपाको राजनीतिक प्रतिवेदन बल्ल छपाईका लागि प्रेसमा गएको छ । एक साता अगाडी नै दुई अध्यक्षका बीचमा समझदारी भएर छपाइका लागि प्रेसमा पठाउने भनेपनि फेरि अड्किएको राजनीतिक प्रतिवेदन छपाइको विषय उठेपछि हिजो सोमबार भने प्रतिवेदन छपाइका लागि प्रेसमा गएको हो ।
‘प्रतिवेदन छपाइमा गयो, कार्यविभाजन लगायतका विषयमा शीर्ष तहमा छलफल भईरहेको छ, अब एक दुई दिनमै सचिवालय बैठक बोलाएर त्यसलाई पनि अन्तिम रुप दिन्छौं,’ महासचिव विष्णु पौडेलले सफलखबरलाई बताए ।
दुई अध्यक्षवीच हिजो बिहान (सोमबार) प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा प्रतिवेदन अन्तिम पटक अध्ययन गर्ने काम भएको थियो । गत हप्ता नै समझदारी जुटेसँगै संसोधन भएका केही भाषागत विषयमा सफ्ट गरी ल्याउन महासचिव पौडेललाई दुई अध्यक्षले जिम्मा दिएका थिए ।
५ दिन अगाडी नै महासचिवले प्रतिवेदन छपाइका लागि प्रेसमा पठाउने बताएका थिए । तर फेरि प्रतिवेदन छपाई अडकिन थालेपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पूनः प्रतिवेदन छपाइको विषय उठाउनु परेको थियो ।
‘नेताहरुले एक आपसमा विश्वासको वातावरण निर्माणकै लागि फेरि सोमबार एकपटक प्रतिवेदन प्रेसमा छाप्न पठाउनका लागि तयार पारिएको प्रतिवेदनको सफ्ट प्रति अध्ययन गर्नुभयो,’ बालुवाटार स्रोतले भन्यो,–‘त्यसपछि छपाइका लागि प्रतिवेदन प्रेसमा पुगेको छ ।’
नेकपामा पार्टी एकताको १४ महिना पुग्दा सम्म राजनीतिक प्रतिवेदन प्रकाशनमा आउन सकेको थिएन । राजनीतिक प्रतिवेदन प्रकाशनमा आउन नसक्दा पार्टीको राजनीतिक कार्यदिशाकै विषयमा सचिवालयकै सदस्य इश्वर पोखरेल लगायत नेताहरुले अपब्याख्या गदै एकता विरोधी अभिब्यक्तिहरु सार्वजनिक गदै आएका थिए ।
पछिल्लो पटक कार्यदिशामा प्रधानमन्त्री समेत रहेका ओलीले समेत तत्कालिन एमालेले अंगाल्दै आएको तर पार्टी एकताका क्रममा स्थगित राखिएको जनताको बहुदलीय जनवादको पक्षमा पार्टी बैठकमै वकालत गरेपछि विवाद बढेको थियो ।
अन्ततः एकताका क्रममा भएको सहमतिबाट दायाँ वायाँ गरे त्यसले एकता प्रक्रियामै अप्ठायारो पार्ने भएपछि ओली पछाडी हट्न बाध्य भएका थिए ।
त्यसपछि पूनः जनताको जनवादको राजनीतिक कार्यदिशालाई प्रतिवेदनमा उल्लेख गरेर प्रतिवेदन छपाईका लागि प्रेसमा पठाउन ओली तयार भएका थिए ।
गत असार ७ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छपाइमा जोड गरेपछि त्यसयता सचिवालय बैठक बस्न सकेको छैन । दुई अध्यक्ष र केही शीर्ष नेताहरुका बीचमा भने अनौपचारिक तहमा अनेक छलफल र वहस भने हुँदै आईरहेको छ ।
त्यही क्रममा आइतबार र सोमबार पनि दुई अध्यक्ष, महासचिव पौडेल र अर्का सचिवालय सदस्य रामबहादुर थापा बादलका बीचमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०७६, ०७ : २४
लेखकबाट थप