नेपालद्वारा मलेशिया पराजित, कप्तान पारसको अर्धशतक

शनिबार, २८ असार २०७६, १४ : ०७
नेपालद्वारा मलेशिया पराजित, कप्तान पारसको अर्धशतक

काठमाडौँ । मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । 
    
सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेशियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।  
    
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको मलेशिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई जितको लागि १२९ रनको चुनौती दिएको थियो । 

 कूल १२९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । नेपालको जितमा कप्तान पारस खड्काले ८६ रनको अर्धशतकीय इनिङ् खेले । उनले ५० बल खेल्दै पाँच छक्का र आठ चौकाको मद्दतमा अविजित ८६ रनको योगदान दिएका हुन् ।
    
त्यसैगरी शरद भेषवाकरले अविजित १६ रन जोड्दा शुरुआती ब्याट्सम्यान प्रदीप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन जोड्दै बाहिरिए । 
    
बलिङतर्फ मलेशियाका अनवर रहमानले दुई तथा मोहमद फिट्रीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेशियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सकेको थियो । 
    
मलेशियाका लागि भिरन दिप सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै अहमेद फाइज मोहमद नुरले ४५ तथा मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । 
    
मलेशियालाई १२८ रनमा समेट्नेक्रममा नेपालका करण केसी एक्लैले तीन विकेट लिए । त्यसैगरी वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट झारे ।
    
अब नेपालले मलेशिया विरुद्वको दोस्रो तथा अन्तिम खेल भोलि आइतबार खेल्नेछ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिङ्गापुरमा आयोजना हुदैछ ।  
प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेशिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेशियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ ।     
उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ । (रासस) 

प्रतिक्रिया दिनुहोस