संखुवासभामा पहिरोमा थुनिए २८ परिवार

हेलिकप्टरमार्फत उद्धारको तयारी, मौसममा सुधार आउन नसक्दा समस्या

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, ०९ : ५३
संखुवासभामा पहिरोमा थुनिए २८ परिवार

काठमाडौं । संखुवासभाको पहिरोमा २८ परिवार थुनिएका छन् । ६ दिन यता लगातार परिरहेको पानी र फाटेको जमिनमा गएको पहिरोका कारण मकालु गाउँपालिका–५ का २८ परिवार गाउँमै थुनिएका हुन् ।

उनीहरु अहिले एउटा गाउबाट अर्काे गाउमा जान सक्ने अवस्थामा नभएको पेपुवाका बिस्थापित मकरध्वज राईले टेलिफोनमा बताए । उक्त गाउका चारैतिरका डाडा चिराचिरा परेका छन् । गत असार ३ गते चिरा परेको जमिनमा गएको पहिरोका कारण उनीहरु गाउमै थुनिएका हुन् । पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्र आउन ७ घण्टा लाग्छ ।

फाटेको जमिनबाट लगातार ठाउ ठाउमा गएको पहिरोका कारण उनीहरु त्रसित छन् । ६ दिनदेखि उनीहरुले राम्ररी निदाउन समेत पाएका छैनन्  । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको राईले बताए ।  ‘फोन पनि दिउँसो घाम लागेका बेला मात्र चल्छ,’ उनले टेलिफोनमा भने, ‘उद्धारको पर्खाइमा छौं । नजिकैको खुला आकाशमा रात काटिरहेका छौं ।’

बिस्थापितका लागि नजिकका बजार नुम र हेदान्ना हुन् । तर यहाँसम्म पुग्ने बाटो पहिरोले भत्काइदिएको छ । बाटो नभएपछि गाउँमै थुनिएर बस्नुपरेको राईले बताए । भएको अन्नपात सकिएपछि अब के खाने भन्ने चिन्ता समेत उनीहरूमा छ । खानेपानीको मुहान पनि पहिरोले बगाएको छ । पानी समेत नभएपछि उनीहरुले अकाशबाट झरेको पानी थापेर खान थालेका छन् ।

असार ३ गते बिहानीपख पहिरो झरेपछि गाउँले आत्तिएका थिए । ‘मरियो जस्तो लागेको थियो, उज्यालो भएपछि हेर्दा जतासुकै पहिरो झरेको देख्यौं,’ राईले भने, ‘अन्यत्र जाने बाटो बन्द भइसकेको थियो । गाउँ वरिपरि पहिरो झरेकाले कुन बेला यता पनि जाने हो भन्ने चिन्तामा छौं ।’

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले पहिरो पीडितको उद्धारको तयारी शुरु गरिसकेको बताए । थुनिएकालाई उद्धार गरी नुम र हेदान्ना ल्याउने तयारी गरिएको दुलालले बताए । पहिरो गएपछि उनी नेतृत्वको टोली नुम र अरुण तेस्रो आयोजनाको ड्यामसाइडसम्म पुगेर फर्किएको थियो । ‘त्यहाँभन्दा उता हिँडेर जाने सडक नभएपछि हामी पनि फर्कियौं,’ उनले भने, ‘पहिरो हेर्दा कहालीलाग्दो छ । खाँदबारीबाट सेनाको हेलिकप्टरमार्फत राहत लैजाने तयारी भएको उनको भनाइ छ । मौसम सफा नभएकाले आइतबार सेनाको हेलिकप्टरबाट राहत सामग्री वितरण हुन नसकेको डीएसपी मिमबहादुर लामाले बताए । उच्च हिमाली भेग रहेकाले मौसममा सुधार आउन नसक्दा हेलिकप्टर लैजान नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस