पर्यटनमन्त्री बन्दै योगेश भट्टराई

तीन चार दिनभित्रै भट्टराई मन्त्री बन्दै, अन्य मन्त्री हेरफेरका लागि केही समय लिने प्रधानमन्त्रीको तयारी

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, ०७ : ०४
पर्यटनमन्त्री बन्दै योगेश भट्टराई

काठमाडौं । मन्त्रिमण्डल पूर्नगठनको चर्चा चल्दै गर्दा तत्काल रिक्त पर्यटन मन्त्रीको मात्र चयन गर्ने तयारी प्रधानमन्त्री केपी ओलीले शुरु गरेका छन् ।

बजेट पारित भएसँगै प्रधानमन्त्रीले मनित्रमण्डल हेरफेर गर्ने चर्चा छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्रीसँग छलफल चलेपनि हेरफेरको सर्वाधिकार प्रधानमन्त्रीमै निहित रहेको बताउँदै आएका थिए । त्यसपछि बजेट लगत्तै मन्त्रीमण्डल पूर्नगठन गर्ने चर्चा चुलिएको थियो । तर नेकपाभित्र पछिल्लो चरण एक पछि अर्काे विषयमा नयाँ विवाद देखिन थालेपछि प्रधानमन्त्री ओलीले यस विषयमा अर्का अध्यक्ष प्रचण्डसँग र अन्य नेताहरुसँग थप छलफल गरेका छैनन । तर ओलीले हाल रिक्त रहेको सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशलाई मन्त्री बनाउने र हेरफेर भने केही समय लिएर गर्ने तयारी गरेको बालुवाटार निकट स्रोतले बतायो ।

‘भटटराईलाई तीन–चार दिनभित्रै रिक्त पर्यटनमन्त्रीमा नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको छ,’ बालुवाटार स्रोतले सफल खबरसँग भन्यो, –‘अन्य हेरफेरको विषयमा भने प्रधानमन्त्रीले केही समय लिनुहुन्छ ।’

भट्टराई ताप्लेजुङबाट निर्वाचित सासंद हुन् । चुनाबकै बेला ताप्लेजुङ नै पुगेर प्रधानमन्त्री ओलीले योगेशलाई जिताएर पठाउने जिम्मा ताप्लेजुङवासीको मन्त्री बनाउने जिम्मा आफ्नो भएको भनेर सार्वजनिक मन्तब्य नै दिएका थिए ।

तर मन्त्रीमण्डल गठन गर्दा योगेशलाई मन्त्री नबनाएको भन्दै प्रधानमन्त्रीको आलोचना पनि भएको थियो । पर्यटन मन्त्री अहिले प्रधानमन्त्री आफैले सम्हालिरहेका छन् । निर्वतमान मन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटनमन्त्री रिक्त रहदै आएको थियो । नेकपाभित्र प्रष्ट बोल्ने, आफनो क्षमता देखाउन सक्ने नेताका रुपमा भट्टराईलाई लिइदै आएको छ । उनी अहिलेसम्म मन्त्री बनेका छैनन । उनलाई मन्त्री बनाउने विषयमा अर्का अध्यक्ष प्रचण्ड पहिले देखि नै सकारात्मक देखिदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस